दाङ, १५ माघ । झगडा छुटाउन गएका दुई प्रहरीमाथि रक्सी सेवन गरेकाहरूले ढुंगामुढा गरेका छन् । बाँफिकोट गाउँपालिका–३ स्यार्पु गाउँमा स्थानीयको झगडा छुटाउन गएका इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र प्रहरी चौकी मग्मामा दरबन्दी भई बाँफिकोटमा कार्यरत हिमराज खड्का घाइते भएका छन् ।
उनीहरूको टाउको, अनुहारका साथै शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। घाइतेमध्ये शाहीको ढाडमा र खड्काको टाउकोमा बढी चोट पटक लागेको छ । जाँड खाएर मातेका स्थानीय युवाहरूले प्रहरी जवान शाही र खड्कामाथि कुटपिटका साथै ढुंगामुढासमेत गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताउनुभयो ।
घाइते प्रहरीलाई सल्लेस्थित रुकुम जिल्ला अस्पतालमा प्रारम्भिक उपाचार पछि थप उपचारको लागि लुम्बिनी प्रदाशिक अस्पताल नेपालगञ्जका लागि रिफर गरिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि घाइते प्रहरीहरू शाही र खड्कालाई थप उपचारका लागि सोमबार बिहान काठमाडौंका रिफर गरिएको प्रहरी प्रवक्ता खड्काले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक खड्काका अनुसार एक जना युवकमाथि घेरा हालेर कुटपिट भइरहेको स्थानीयको खबरका आधारमा झगडा छुटाउन भनेर प्रहरी जवान शाही र खड्कालाई खटाइएको थियो । तर, त्यहाँ पुग्नासाथ मदिराले मातेका व्यक्तिहरूले एकाएक प्रहरी जवान शाही र खड्कामाथि ढुंगामुढा गर्दै कुटपिट थालेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।
स्थानीयको झगडा छुटाउन गएका प्रहरी जवान शाही र खड्कामाथि ढुंगामुढा गरेको आरोपमा जिल्लाकै बाँफिकोट ४ का २८ वर्षीय लक्ष्मण विक, सोही ठाउँका २२ वर्षीय जनक खनाल, २२ वर्षीय कैलाश पुरी, बाँफिकोट – ६ का अन्दाजी १५ वर्षीय एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । प्रहरीका अनुसार घटनामा संलग्न अन्य युवाहरूको खोजी कार्य जारी छ।