Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

छ महिनासम्म बिदा नलिएपछि ५ प्रहरीलाई सोधियो स्पष्टीकरण


1.2K
Shares

छ महिनासम्म बिदा नलिएपछि ५ प्रहरीलाई सोधियो स्पष्टीकरण

काठमाडौं, ४ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले छ महिनासम्म बिदा नलिएको भन्दै पाँच जना प्रहरीसँग स्‍पष्टीकरण सोधेको छ । कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले पाँच जना प्रहरीलाई बिदा नलिनुको कारणबारे स्पष्टीकरण सोधेका हुन् ।

प्रहरी सहायक हवल्दार सबिन थुक्लुङ लिम्बु, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, रूपेश तामाङ र अनिल परियारलाई स्पष्टीकरण सोधिएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी पुरूषोत्तम खड्काले कारबाहीका लागि स्पष्टीकरण नसोधिएको बताउनुभयो ।

‘हाम्रोमा कारबाहीका लागि मात्रै स्पष्टीकरण सोध्यो भन्ने धारणा छ । यो भनेको कुनै विषयमा स्पष्ट हुनको लागि गरिने हो,’ उहाँले भन्नुभयो, ‘६ महिनासम्म बिदा नलिई काम गरेकाले किन नलिइएको हो ? केही समस्या हो कि, परिवारमा केही समस्या पो भएर हो कि भनेर सोधेका हौं, कारबाहीका लागि होइन।’

प्रहरी नियमावलीअनुसार वर्षमा प्रहरी कर्मचारीले ३० दिन घर बिदा र १२ दिन भइपरी आउने बिदा लिन पाइन्छ । तर कामको चापका कारण प्रहरी कर्मचारीले बिदा कम पाउने अवस्था छ । जसकारण मनोबल घट्ने समस्या देखिएको हुँदा काममा थप ऊर्जा कायम गर्ने उद्देश्यले यसरी स्पष्टीकरण सोधिएको डिएसपी खड्काले बताउनुभयो ।

‘कतिपय कर्मचारी बिदा लिइरहने र कतिपयले पाउने पनि नलिने देखिन्छ। बिदा लिएर आएपछि कर्मचारी पनि फ्रेस हुने भएकाले यसो गरिएको हो,’ उहाँले भन्नुभयो, ‘पाँच जनालाई केही समय अघि नै सोधेका थियौं । उहाँहरू पछि बिदा बसौला भनेर बसेको पायौं, बिदा पनि दिइसकेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology