गोरखा, ११ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा एक घर एक घारा कार्यक्रम लागू भइरहेको बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको ताकुकोटमा आज बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको जनप्रतिनिधि र सरोकारवालाहरुसंग प्रधानमन्त्री बिषयक कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै उहाँले प्रदेश सरकारका तर्फबाट प्रदेश भित्रका सवै जिल्लामा एक घर एक घारा कार्यक्रम लागू गरिएको बताउनुभयो ।
‘‘एक घर एक धारालाई निरन्तरता दिएर गण्डकी प्रदेशका प्रत्येक जनताको घरमा धारा पु¥याउन प्रतिवद्ध छौ, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘‘त्यही अनुसार कार्यक्रम कार्यान्वयन गर्न प्रतिवद्ध भएर प्रदेश सरकार लागि परेको छ ।’’ उहाँले जनताको जीवनस्तर उकास्न र विकास र सम्बृद्धिका लागि तिनवटै तहका सरकार विचको समन्वयबाट मात्र सम्भव रहेको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले विकास निर्माण योजनाहरु ठेकेदारले समयमा सम्पन्न गर्न नसक्दा जनप्रतिनिधिहरुले जनताको आलोचना खेप्नु परेको भन्दै सवै तहको सरकार मिलेर आयोजनाहरु समयमा काम सम्पन्न गर्ने गरी लाग्नुपर्नेमा जोडदिनुभयो । ‘‘प्रदेश सरकार सघ सरकार र गाउँपालिकाले बजेट बिनियोजन गर्दछ, तर, ठेकेदारले समयमा काम नसक्दा नागरिकहरुले जनप्रतिधिलाई गाली गर्ने बाटो बनेको छ, उहाँले भन्नुभयो, ‘‘तर त्यस्तो कामलाई बन्द गर्ने तर्फ सवै तहको सरकार लाग्नुपर्छ ।’’
उहाँले निर्वाचनका बेला आफ्नो निर्वाचन क्षेत्रका प्रत्येक वडामा हिउँद र बर्खा बाह्रै महिना चल्न सक्ने बाटो निर्माण गर्ने प्रतिवद्धता गरेको भन्दै आफुले गरेको प्रतिवद्धता पूरा गर्न लागि परेको बताउनुभयो । बारपाक सुलिकोट गाउँपालिकाको राङरुङ खोला, माछीपोखरी हुँदै जाने सडक लागी समानिकरणमा एक करोड ६० लाखको काम भईरहेको जानकारी दिनुभयो ।