विनोद श्रेष्ठ
गोरखा १० पुस । भिमसेनथापा गाउँपालिका–१,घ्याम्पेशलमा रहेको श्री दुल्लभ माध्यामिक विद्यालयको व्यवस्थापन समिति गठन नगरेको भन्दै अभिभावक र नागरिक समाजले शिक्षा अधिकृतलाई ध्यानाकर्षण गराएका छन्।
विद्यालयको व्यवस्थापन समिति गठन भएको तीन वर्ष ९ महिना बितिसक्दा पनि नयाँ समिति गठन गर्नुको साटो पुरानै म्याद सकिएको अवैधानिक समितिबाट सामाजिक लेखा परिक्षण तथा शिक्षक सरुवा सहमति जस्ता विद्यालयको महत्वपुर्ण गतिविधी गरेको भन्दै अभिभावक भेलाले शिक्षा अधिकृत यानबहादुर नेपालीलाई हस्ताक्षर सहित गम्भीर ध्यानाकर्षण गराएका हुन्।
विद्यालय व्यवस्थापन समिति गठन गरि अन्य कामकाजलाई चुस्त,दुरुस्त र पारदर्शी बनाउन अभिभावकहरूले विद्यालय प्रशासनलाई अनुरोध गर्दा समेत प्रशासनले बेवास्ता गर्दै एकलौटी रूपमा एकपछि अर्को गलत निर्णय गरेको अभिभावकहरूको आरोप छ। यस्ता अनियमितता भई रहदा पनि शिक्षा शाखा मौन रहेको भन्दै अभिभावकहरूले आक्रोश व्यक्त गरेका छन्। उनीहरूले विद्यालय प्रशासनको उक्त कार्यको घोर भर्सना गर्दै अविलम्ब गलत कार्य रोकी विद्यालयलाई सही गतिमा लैजान माग समेत गरेका छन्।

तत्कालीन प्रधानाध्यापक शिव प्रसाद भट्टको कार्यकालमा विद्यालयले गत २०७६ साल चैत्र ६ गते विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको थियो। यो मितिले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको म्याद गत २०७९ चैत्र ५ गते सकिन्छ। शिक्षा नियामावली (नवौं संसोधन) २०७७ अनुरुप विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको पदावधि ३ वर्षको रहने व्यवस्था छ। समितिले आफ्नो पदावधि समाप्त हुन भन्दा ३० दिन अगावै अभिभावक भेला गरि नयाँ समिति पुनः गठन गर्नु पर्ने कानुनी प्राबधान छ।
दुल्लभ माद्यामिक विद्यालयको प्रधानाध्यापक मोहनबाबु सापकोटाले पुरानो विद्यालय व्यवस्थापन समितिको म्याद सकिएकोले अब आउने केही दिनमै नयाँ समिति गठन हुने बताउनुभयो। उहाँले चाडपर्व लगायत विद्यालयको व्यस्तताले गर्दा समयमै व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन हुन नसकेको र पुरानै समितिबाट नियमित कामकारबाही भई रहेको बताए। यो समिति वैधानिक हो ? भन्ने हाम्रो प्रश्नमा प्रधानाध्यापक सापकोटाले भन्नुभयो, वैधानिक अवैधानिक भन्ने विषय अदालतले भन्ला, तर नयाँ समिति बन्ने प्रक्रियामा छ,नबनुन्जेल यहि समितिले काम गर्छ।
भिमसेनथापा गाउँपालिकाको नमुना विद्यालयको रुपमा रहेको दुल्लभ माध्यामिक विद्यालय पछिल्लो समय निकै विवादित बन्दै आएको छ। विद्यालयमा हुने राजनितिक खिचातानी, व्याक्तिगत स्वार्थ विवादितका प्रमुख कारण हुन्। केही समय पहिले एक स्थानीय शिक्षकलाई प्रधानाध्यापक नियुक्ति र मासिक ज्यालादारीमा गोप्य रुपमा लेखापाल राखिएको बारे विद्यालयमा निकै ठुलो विवाद सृजना भएको थियो।
