काठमाडौं, २ पुस । मलेसियामा एउटै कम्पनीमा कार्यरत व्यक्तिको हत्या गरी नेपाल फर्किएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले महोत्तरी गौशाला नगरपालिका(५ बस्ने २४ वर्षीय अनिलकुमार साहलाई पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिनुभयो ।
शनिबार हिमालयन एयरलाइन्सबाट काठमाडौं आइपुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले मंसिर २५ गते झापा शिवसताक्षी नगरपालिका(३ का ४० वर्षीय धनबहादुर प्रधानको हत्या गरेको आरोप छ ।
प्रधान विगत एक वर्षदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा काम गर्दै थिए । त्यहाँ काम गर्नेक्रममा साहले प्रधानको हत्या गरेको एसपी ढुंगेलले बताउनुभयो ।
मृतक प्रधानकी श्रीमतीले प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। साहले आफ्नो हुलिया परिवर्तन गरी नेपाल फर्किएको भन्ने सूचना प्रहरीले पाएको थियो । त्यस सूचनाको आधारमा खटिएको टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद लिएर इन्टरपोल मार्फत मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समन्वय गरी अनुसन्धान अघि बढाएको छ ।