काठमाडौं, ११ मंसिर । नेपाली बजारमा आज सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
यसअघि गत कात्तिक ११ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो ।
एक महिनाको अवधिमा सुनको मूल्यले पुनः रेकर्ड तोडेको हो । आज सुन प्रतितोला एक लाख १७ हजार चार सय रुपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा चार सय रूपैयाँ बढी हो ।
अघिल्लो दिन अर्थात् आइतबार तोलामा छ सय रूपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार पाँच सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदीको यो मूल्य मूल्य पनि हालसम्मकै उच्च हो ।
आइतबार चाँदी प्रतितोला १ हजार चार सय ८५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।