गोरखा, ११ मंसिर । गोरखा जिल्लामा अनलाइन प्रणाली मार्फत विद्युत महसुल भुक्तानी गर्ने ग्राहकको संख्या बढदै गएको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रमा पछिल्लो समय ग्राहकहरुले विद्यु्तीय माध्यमबाट महसुल भुक्तानी गर्ने क्रम कार्यालय प्रमुख इन्जिनियर चिजकुमार गुरुङले जानकारी दिनुभयो ।
‘‘शाखा अन्र्तगत अहिले ४८ हजार ८ सय ८० हजार ग्राहकहरु रहेका छन्, उहाँले भन्नुभयो, ‘‘त्यसमध्ये आधाजसो ग्राहकहरुले अनलाइन मार्फत महसुल भुक्तानी गर्न थालेका छन् ।’’ धेरै महसुल तिर्नुपर्ने ग्राहकहरुले चेक मार्फत भुक्तानी गर्ने गरेका भएपनि थोरै शुल्क तिनुपर्ने ग्राहकहरुले भने अनलाइन सेवा मार्फत महसुल बुझाउने गरेको पाइएको छ ।
शाखा अन्र्तगत जिल्लाका तीन ठाउँमा महसुलको काउण्डर रहेको भएपनि अनलाइन प्रणाली मार्फत भुक्तानी गर्ने ग्राहकको संख्या बढ्दै गएपछि काउण्टरमा चाप कम हुँदै गएको प्रमुख गुरुङको भनाई छ । ‘‘अनलाइन प्रणाली मध्येपनि सवैभन्दा इ–सेवाबाट महसुल बुझाउने ग्राहकको संख्या धेरै छ, उहाँले भन्नुभयो,‘‘ यसले कार्यालय र ग्राहक दुवैलाई छिटो छरितो र सहज पनि भएको छ ।’’
प्राधिकरणले आफ्ना ग्राहकहरुलाई इ–सेवा, खल्ती, आइएमी पे, बैङ्क खाता लगायतका बिभिन्न अनलाइन माध्यमबाट विद्युतको महसुल तिर्नसक्ने व्यवस्था मिलाउदै आएको छ । अनलाइनको माध्यमबाट विद्युत महसुल भुक्तानी गर्दा ग्राहकहरुलाई घण्टौ लगाएर गाउँदेखि बजारसम्म आइपुग्नुपर्ने बाध्यता समेत हटेको प्रमुख गुरुङले बताउनुभयो ।
‘‘तीस रुपैयाको महसुल बुभाउन बारपाकदेखि ५ सय रुपैया खर्च गरेर सदरमुकाम आउनुपर्ने बाध्यता ग्राहकहरुको रहेको थियो, उहाँले भन्नभयो, ‘‘अहिले मोवाइलवाट घरमै बसेर पनि महसुल बुझाउन पाएका छन् ।’’ यसले ग्राहकहरुको खर्च समेत बचत हुने उहाँको भनाई छ ।
‘‘अनलाइन प्रणाली मार्फत महसुल भुक्तानीका लागि अझै पालिका वा वडावडामा पुगेर सचेतना फैलाउने योजनामा कार्यालयको छ, प्रमुख गुरुङले भन्नुभयो, ‘‘ग्राहकहरुलाई अनलाइन मार्फत कसरी भुक्तानी गर्ने भन्ने बारेमा जानकारी पनि छैन हामीले आफु पुगेको बेलामा ग्राहकलाई जानकारी दिनेपनि गरेका छौ ।’’
अनलाइन मार्फत विद्युत भुक्तानी गर्दा सार्वजनिक विदाका दिनमा समेत भुक्तानी गर्न सक्ने भएकाले पनि ग्राहकहरुलाई पनि सजिलो भएको उहाँको भनाई छ । ‘‘कार्यालयले हरेक दिन बिहान ७ बजेपछि सर्भर अपडेट गरिदिन्छ, प्रमुख गुरुङले भन्नुभयो, ‘‘अनलाइन मार्फत भुक्तानी हुन थालेपछि समयमा महसुल उठ्ने गरेको छ ।’’
अनलाईनबाट महसुल भुक्तानी गर्नेले बिहान ७ बजेदेखि राती १२ बजेसम्म भुक्तानी गर्न सक्ने उहाँले बताउनुभयो । प्राधिकरण गोरखा वितरण केन्द्रमा मासिक करिब २ करोड रुपैया भन्दाबढी राजस्व संकलन हुने गरेको कार्यालय प्रमुख गुरुङले जानकारी दिनुभयो ।…दीपक श्रेष्ठ