काठमाडौँ ५ मंसिर । पार्टी छोडेको ८ बर्षपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पुरानै घरमा फर्कन बाटो खुलेको छ । नेपाल समाजवादी पार्टी (नेसपा)ले मंगलबार एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने निर्णय गरेसंग भट्टराईलाई पुरानै घर फर्कने बाटो खुलेको हो ।
केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेसपाको कार्यकारिणी बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको हो । बैठकले पार्टी एकताका लागि अध्यक्ष डा। बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाउने निर्णय गरेको महासचिव रमेशप्रसाद यादवले जानकारी दिनुभयो । पार्टीको नाम अहिले नेकपा (समाजवादी) बनाउने सहमति भएको छ ।
सोमबार भट्टराई निवास टोखामा बसेको शीर्ष चार नेताले एकताको विषयमा टुंगो लगाएका थिए । नेसपामा एक सय ८९ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेको छ । ९ जना पदाधिकारी र २४ कार्यकारिणी सदस्य रहेका छन् ।