Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा खेर गएको बाँझो जमिनमा अकबरे खुर्सानीको व्यवसायिक खेती


6.6K
Shares

गोरखामा खेर गएको बाँझो जमिनमा अकबरे खुर्सानीको व्यवसायिक खेती

गोरखा, ५ मङ्सिर । गोरखा नगरपालिका–१३ देउराली स्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब १ सय ३ रोपनी जमिनमा एक किसानले अकबरे खुर्सानीको व्यवसायिक खेती गर्न सुरु गर्नुभएको छ । स्थानीय कृषक जीतवहादुर भट्टले सिरुघारी फाँडेर गएको माघ महिनादेखि खनजोत गरी व्यवसायिक रुपमा अकबरे खुर्सानीको खेती गर्नुभएको हो ।

अकबरे खुर्सानीको व्यवसायिक खेती गर्दा छिटो र मनग्य आम्दानी हुने भएकाले बर्षौदेखि बाँझो बसेको जमिन भाडामा लिएर खेती गर्न थालेको उहाँले बताउनुभयो । बार्षिक रुपमा एकलाख ५० हजार रुपैयामा भाडामा लिएर खनजोत गरी अहिलेसम्म ७५ हजार भन्दाबढी अकबरे खुर्सानीको बेर्ना लगाइसकेको किसान भट्टको भनाई छ ।

कालिका कृषक समुह फर्म दर्ता गरेर व्यवसायिक खेती गर्नुभएका भट्टले बेमौसमी अकबरे खुर्सानी खेती गर्नभएको हो । ‘‘अहिले करिब ४० रोपनी जमिनमा बेर्ना लगाइसकिएको छ, उहाँले भन्नुभयो, ‘‘आफैले नसर्रीमा उत्पादन गरेको बेर्ना लगाएको छु, अझै करिब ६३ रोपनीभन्दा बढी बाँकी जमिनमा रोप्नका लागि बेर्ना तयारी अवस्थामा छ ।’’

करिव ४ लाख रुपैयाका लगानीमा सुरु गरेको अकवरे खुर्सानीको व्यवसायिक खेतीबाट बार्षिक ३७ लाख रुपैयाभन्दा बढी आम्दानी हुने अनुमान रहेको उहाँले बताउनुभयो । ‘‘बेर्ना लगाएको ५ महिनामा खुर्सानीको राम्रो उत्पादन सुरु हुन्छ, भट्टले भन्नुभयो, ‘‘उत्पादन सुरु भएपछि एउटै बोटले तीन बर्ष राम्रोसंग उत्पादन दिन्छ ।’’ उहाँले चार जनालाई फार्म रोजगारी समेत दिनुभएको छ ।

उत्पादित खुर्सानी बिक्रीका लागि बजारमा कुनै समस्या नभएको उहाँले बताउनुभयो । ‘प्रतिकिलो बजारमा न्युनतम दुईसय पचास रुपैयामा सजिलै बिक्री हुन्छ, भट्टले भन्नुभयो, ‘‘रातोमाटोमा उत्पादन हुने खुर्सानीको अरु माटोमा उत्पादन हुनेभन्दा अझ बढी स्वादिष्ट र पिरो हुने भएकाले पनि बजारमा यस क्षेत्रमा उत्पादन हुने अकबरे खुर्सानीको राम्रो माग छ ।’’

किसान भट्टले आफुले उत्पादन गरेको खुर्सानी चितवन स्थित अचार उद्योगहरुमा धेरै बिक्री हुने बताउनुभयो । त्यसवाहेक जिल्ला भित्रका गोरखा सदरमुकाम, काठमाण्डौको कालिमाटी, तनहुँको खैरेनीटार, पोखरा, लगायतका क्षेत्रमा पनि उत्पादित बिक्री हुने गर्दछ । उहाँले कृषि ज्ञानकेन्द्र गोरखाबाट प्राविधिक ल्याएर माटो परीक्षण गरी उक्त ठाउँमा अकबरे खुर्सानीको व्यवसायिक खेती सुरु गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology