बुटवल, २१ कात्तिक । भुतखोलामा घुम्न गएका रुपन्देहीका २२ वर्षीय युवकको डुबेर मृत्यु भएको छ । मंगलबार बिहान तिनाउ गाउँपालिका वडा नं। ३ भुतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.९ का विमल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
आचार्य भैरहवाकै साथी युना दाहालसँग पाल्पामा घुम्न गएका थिए। भुतखोलामा उनीहरू दुबै जना पुगेको प्रहरीले जनाएको छ । डिएसपी श्रेष्ठका अनुसार आचार्य र दाहाल दुबै जनाको उद्धार गरी अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले आचार्यलाई मृत घोषणा गरेको थियो ।
दाहालको बुटवल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बुटवलदेखि ६ किलोमिटर दुरीमा रहेको भुतखोलामा घुम्न जाने कैयौं युवाहरूको हरेक वर्ष डुबेर मृत्यु हुने गरेको छ । गएको वर्ष मात्रै तिनाउ गाउँपालिका वडा नं ३ तिनाउ खोलास्थित विद्युतको ड्यामसाइड र भुतखोलामा १० जना युवाहरूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी तथ्यांक छ। मृत्यु हुनेहरूमा ४ जना किशोर रहेका छन् । त्यस्तै ४ जना भारतीय नागरिक रहेका छन् ।
भुतखोला सामुदायिक वनका अनुसार यहाँका कुनैपनि दह कति गहिरा छन् भनेर मापन नगरिएपनि माथिल्लो मुख्य दह २० देखि २५ फिट गहिरो हुन सक्ने अनुमान गरिएको छ ।