गोरखा, १५ कात्तिक । गोरखाको बेनिघाट आरुघाट सडकखण्ड अन्र्तगत पर्ने अजुवा खोला मोटरेवल पुल निर्माण सुरु भएको सात बर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । आरुघाट गाउँपालिकाको वडा नम्बर ३ र वडा नम्बर ४ जोड्ने पुल निर्माणको काम लामो समयदेखि अलपत्र परेको हो ।
एघारकिलो छेपेटार भालुस्वाँर बारपाक सडक आयोजनाको कार्यालयले ठेक्का लगाएको उक्त पुल निर्माणमा ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण ढिलासुस्ती भएको हो । बि.स २०७४ साउनमा कार्यालयले कन्काई गोरखा एप्रोपेट जेभीसंग मोटरेवल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।
सम्झौता अनुसार १८ महिना भित्र २०७५ माघमा निर्माण सम्पन्न गर्नुपर्ने पुल सम्झौता भएको सात बर्ष बितिसक्दा पनि अलपत्र अबस्थामा रहेको छ । पुल निर्माणका लागि ठेकेदार कम्पनीले हेलचक्राइ गर्दा समेत कार्यालयले आवश्यक पहल नगरेको स्थानीयबासीहरुको गुनासो छ ।
निर्धारित समयमा काम सम्पन्न नगरेको कम्पन्नीलाई पटक पटक गरेर अहिलेसम्म ४ पटक म्याद थप गरिसकेको कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो । पछिल्लो पटक गरिएको म्याद थप अनुसार गएको असारसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।
कुल ४ करोड रुपैयामा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको कार्यालयले ठेकेदार कम्पनीलाई ३ करोड २० लाख रुपैया रकम भुक्तानी गरिसकेको छ । पुलको भौतिक प्रगती भने ८३ प्रतिसत मात्र रहेको कार्यालय प्रमुख खड्काले बताउनुभयो ।
ठेक्का सम्झौता अनुसार अझैपनि पुलसंगको पहुँच मार्ग निर्माण, पुलको दाँयाबाँया रेलिङ निर्माण लगायतको काम बाँकी नै रहेको छ । ठेकेदार कम्पनीले नियमित रुपमा काम गरे बाँकी रहेको काम सम्पन्न गर्न धेरै समय नलाग्ने उहाँको भनाई छ ।
३० मिटर लम्बाई र ११ मिटर चौडाईको पुलमा फुटपाथ सहित निर्माण गर्ने गरी कार्यालयले ठेकेदार कम्पनीसंग ठेक्का सम्झौता गरेको थियो । ‘ठेकेदार कम्पनीले गरेको लापरवाहीका कारण नै पुल निर्माणमा ढिलाईको मुख्य कारण हो, उहाँले भन्नुभयो, ‘त्यस वाहेक भौगौलिक कठिनाईका कारण पनि पुल निर्माणमा केही समस्या भएको छ ।’
चौथो पटक थप गरिएको समयमा पनि ठेकेदार कम्पनीले काम सम्पन्न नगरेपछि कार्यालयले पुनः म्याद थपको तयारी गरेको कार्यालय प्रमुख खड्काको भनाई छ ।