Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा दरवारको दसैँघर र मनकामना मन्दिरमा बिधिपूर्वक जमरा राखियो


2.2K
Shares

गोरखा दरवारको दसैँघर र मनकामना मन्दिरमा बिधिपूर्वक जमरा राखियो

गोरखा, २८ असोज :  गोरखाको गोरखकाली मन्दिरमा रहेको दसैँघरमा आज बिधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेटमा जौको जमरा राखिएको गोरखा दरवारका मुलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

परम्परा अनुसार बिहान सवेरै (बिहान नाडीको रौ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उहाँले बताउनुभयो । कालिका भगवती मन्दिरको दसैंघरमा ९ मानाको जमरा राखिएको छ । त्यस्तै गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएकोे मुलपुरोहित भट्टराईले जानकारी दिनुभयो ।

वडादसैँको पहिलो दिन मूल दरवारको कैलास कोठाबाट गर्भगृह (पुजा कोठा) मा देवी भगवतीको सवारी गराउने र मूलदरबारमा पानी घडी थपना गरेर घटस्थापना गरिएको हो । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दुधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ ।

बडादसैँमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा सुरु भएसंगै कालिका मन्दिरमा नियमित रुपमा कालोबोका बलिदिने प्रचलन रहदै आएको छ । यसपटक दसैँ अबधीभरीसम्म यो ३२ ओटा बोका, १२ भेडा, ५ ओटा सुगुँर, १ सतार सहित १५ ओटा राँगो र ९ ओटा कुखुरा बलिदिने उहाँले बताउनुभयो ।

यसअघि राजसंस्था रहँदासम्म मन्दिरमा १४० ओटा भेडाबोका र १ सतारसहित ८४ ओटा राँगा बालिदिने प्रचलन रहदै आएको थियो । राजसंस्थाको अन्त्य भएसगै गोरखा दरबार हेरचाह अड्डामा दसैँ पूजाका लागि आबश्यक बजेटमा कटौती हुदै आएकाले पशुपन्छिको बली समेत घटाइएको छ ।

यसैगरी घटस्थापनाको बिहानको शुभसाईतमा गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पूजारी इन्सान थापाले जानकारी दिनुभयो । मनकामना मन्दिरमा भने मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उहाँले बताउनुभयो ।

परम्परा अनुसार बिगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नुपर्ने भएका कारण सोही अनुसार नित्य पूजागरी जमरा राखिएको मूलपुजारी थापाले जानकारी दिनुभयो । गणेश र कलस स्थापना गरी दुवै ठाउँमा जमरा राखिएको उहाँको भनाई छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology