काठमाडौ, १४ असोज । काठमाडौं मेडिकल कलेज केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । आइतबार दिउँसो केएमसी अस्पतालमा कार्यरत डा. मनिष खड्कामाथि कुटपिट भएको हो। उनीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम छन् । उनीहरू ओपिडीमा आएका थिए। तर ड. मनिष खड्काले लाइनमा बस्न भनेपछि कुटपिट गरेको आरोप छ ।
कुटपिट गरेको भन्दै चिकित्सकहरू आन्दोलित छन्। उनीहरूले अस्पताल अगाडि प्रदर्शन गरिरहेका छन् । यसअघि हेटौंडाको सञ्चो अस्पताल, पोखराको मणिपाल अस्पताल, लमजुङ जिल्ला अस्पताल, चितवनको माडी अस्पतालमा डाक्टर कुटिएका थिए। त्यसको विरोधमा डाक्टरहरू आन्दोलित भएका थिए ।
डाक्टरहरूमाथि कुटपिटपछि सरकारले नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकसँग कार्यस्थलको सुरक्षाका लागि सहमति गरेका थिए ।