गोरखा, ३१ भदौ : उत्तरी गोरखाको मान्वुमा एक महिलाको शव फेला परेको छ । आरुघाट गाउँपालिका–१ मान्बु स्थित श्यामचेतमा बस्दै आउनु भएकी ६९ बर्षकी सुनमाया लामाको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
‘भुण्डिएको अवस्थामा फेला परेकी महिला घरमा एक्लै बस्नु भएको रहेको छ, उहाँले भन्नुभयो, ‘मृतक महिलाको शरिरको तल्लो भागका कपडा सवै खोलिएको अवस्थामा रहेको र कान च्यातिएको अवस्थामा फेला परेपछि घटना शंकास्पद रहेको पाइएको हो ।’ घटनाका बारेमा शनिबार ढिलोगरी मात्र सूचना पाएको डिएसपी श्रेष्ठको भनाई छ ।
घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाबाट अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली घटनास्थल तर्फ पठाइसकिएको उहाँले बताउनुभयो । मृतक महिला आफै झुण्डिएको हो वा कसैले हत्या गरेर झुण्ड्याएको हो भन्ने बारेमा अनुसन्धानपछि मात्र थाहा हुने डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।
‘उहाँको कसरी मृत्यु भएको हो भन्ने बारेमा एकिन तथ्य बाहिर आइसकेको छैन, डिएसपी श्रेष्ठले भन्नुभयो,‘कहिले मृत्यु भएको भन्ने कुरा समेत पोष्टमार्टमपछि मात्र थाहा हुन्छ ।’ मृतकको कान च्यातिएका कारण कानमा लगाएको गहगहना चोरी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो बनाएर थपअनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।