गोरखा, ३० भदौ । गोरखामा घरेलु हतियार देखाउदै गाली गलौज तथा धाक–धम्की दिई अभद्र व्यवहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिवारराती करिब १० बजेको समयमा गोरखा नगरपालिका–९ लक्ष्मीबजारका १९ बर्षका छोटु भन्ने अनुप बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
हातमा खुर्पा लिइ सोही ठाउँका २१ का ज्योती राज पुडासैनीलाई गाली गलौज तथा धाक–धम्की दिई अभद्र व्यवहार गरेको घटनामा बस्नेतलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । पिडितले घटनाको सम्बन्धमा प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरी अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो ।
पक्राउ परेका बस्नेत माथि जिल्ला प्रसासन कार्यालय गोरखाबाट म्याद थप गरी अनुसन्धान भइरहेको हो ।