गोरखा, २८ भदौ । गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावाका मिठु बिश्वकर्माले आरन पेशा सुरु गर्नुभएको ३५ बर्षभन्दा बढी भइसक्यो । घरसंगै जोडिएको जस्ताको छाना भएको साधुरो कोठामा आरन व्यवसाय सञ्चालन गर्नुभएका बिश्वकर्माको समय दैनिक झण्डै १२ घण्टा त्यहीँ आरनमा बित्छ । हरेक दिन बिहानको उठेपछि ग्राहकको अर्डर अनुसारको कृषि सामग्री निर्माण गर्नु उहाँको दिनचर्या नै बनेको छ ।
‘कुटो, कोदालो, हसिँया, खुर्पा मात्र नभएर ग्रामिण क्षेत्रमा आवश्यक पर्ने धेरैजसो फलामका सामानहरु बिश्वकर्मा आफै तयार पार्नुहुन्छ । फलाम तथा तामाका भाडाकुडा बनाउन परेर वरपरका छरछिमेक र स्थानीयबासीहरु बिश्वकर्माको आरन पुग्छन् ।
‘आरन चलाएर दुई छोरा र एक छोरीलाई पढाइ उतारेँ, बिश्वकर्माले भन्नुभयो, ‘यहीँ पेशाबाट जीवनको सवै गुजारा चलेको छ, पेशाबाट सन्तुष्ट नै छु ।’ श्रीमती र छोरीछोरी सहित परिवारका पाँचै जनाको सदस्यको पालनपोषण र शिक्षादिक्षा आरन व्यवसायबाट नै धानेको उहाँले बताउनुभयो ।
‘मासिक कति आम्दानी हुन्छ भन्ने एकिन त हुदैन तर यहीँ पेशबाट घरगृहस्थी चलेको छ यसैमा सन्तुष्ट छु ।’ उहाँले भन्नुभयो । पछिल्लो समय प्रविधि भित्रिदै गएकाले आरन व्यवसाय गर्न समेत सजिलो भएको बिश्वकर्मा बताउनुहुन्छ । ‘आरनमा आगो फुक्नका लागि वडा कार्यालयले अनुदानमा उपकरण दिएकाले पहिलेभन्दा हिजोआज काम गर्न धेरै सजिलो भएको छ, उहाँले भन्नुभयो, ‘आरनमा आगो फुक्न बाख्राको छाला काढेर खलात बनाएर आगो फुक्ने गर्नुपर्ने बाध्यता थियो अहिले त्यो बाध्यता हटेको छ ।’
पुरानो आरनलाई सुधारिएको आरनको रुपमा विकसित गरेर लैजाउनका लागि स्थानीय सरकारले पुराना आरन व्यवसायीहरुलाई अनुदान सहयोग गर्दै आएको छ । गाउँपालिका मार्फत वडा कार्यालयले आरनका लागि आगो पुक्ने मेसिन, वेल्डिङ्ग मेसिन लगायतका उपकरण अनुदानमा उपलब्ध गराएपछि थप सजिलो भएको उहाँले बताउनुभयो ।
‘वडा कार्यालयले नयाँ प्रविधिको उपकरण सहयोग नगर्दासम्म दर्शन ढुङगा ल्याएर रसायन लगाउनु पर्दथ्यो, उहाँले भन्नुभयो, स्थानीय सरकारले सहयोगपछि आरन सञ्चालनमा धेरै सुविधा पुगेको छ ।’
गाउँपालिकाले पालिका भित्र रहेका आरनलाई आधुनिकीकरण गर्दै लैजाने योजना अनुरुप आर्थिक सहयोग समेत प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।
‘स्थानीय स्तरमा आरन व्यवसाय गर्दै आएका आरन व्यवसायीहरुलाई गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको छ, उहाँले भन्नुभयो, ‘आरन व्यवसायलाई घरेलु उद्योगका रुपमा आर्थिक आयआर्जन गर्ने माध्यमका रुपमा विकास गर्दै जाने गाउँपालिकाको योजना छ ।’