गोरखा, २१ भदौ । जिल्ला प्रशासन कार्यालय गोरखाले महिलाहरुको महान चाड हरितालिका तिज भड्किलो गरी नमनाउन आग्रह गरेको छ । कार्यालयका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सुवेदी मार्फत आज एक सूचना जारी गर्दै प्रसासनले विगत केही वर्ष यता हरितालिका तिज पर्व मनाउने नाममा अत्यन्त खर्चिला तथा तडक भडक कार्यक्रम गर्ने प्रवृत्तिका कारण विभिन्न विकृति विसंगति तथा सामाजिक अपराधलाई प्रोत्साहन पुगेको देखिएकाले यस्तो आग्रह गरेको हो ।
सूचनामा धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरु मनाउने सम्बन्धमा सामाजिक व्यवहार (सुधार) ऐन र नियमावली, २०३३ ले व्यवस्थित र नियमित गरेको भन्दै सोही विपरितको कार्य नगर्न नगराउन भनिएको छ ।
तिज पर्व मनाउदा आफ्नो परम्परा, सामाजिक रितिरिवाजलाई निरन्तरता दिने तथा सम्बर्दन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा महंगा तिजसंग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न नगराउनु जिल्लाबासीहरुलाई प्रसासनले अनुरोध गरेको छ । प्रसासनले जारी गरेको सूचनामा सु–संस्कार कायम गर्ने कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्थाहरु, संचारकर्मीहरू र महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरुबाट सहयोगको अपेक्षा गरिएको उल्लेख छ ।
आफ्नो परम्परा एवम् रितिरिवाजलाई निरन्तरता दिने तथा सम्बद्र्धन गर्ने बाहेक नियम विपरित हुने गरी भड्किलो रुपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका अन्य स्थानहरुमा कानून विपरित रकम संकलन गर्ने उद्देश्यले मेला, महोत्सव आयोजना गरे गराएमा कानून बमोजिम कारवाही हुने समेत प्रसासनले चेतावनी दिएको छ ।