Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

‘क्वार्ज किष्टल’ गोरखा दरवारमा राख्ने मन्त्री परिषदको निर्णय


2.3K
Shares

‘क्वार्ज किष्टल’ गोरखा दरवारमा राख्ने मन्त्री परिषदको निर्णय

गोरखा, ३१ साउन । गोरखा नगरपालिका–७, सतिपिपल स्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरवारमै राख्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेकोे गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले जानकारी दिनुभयो ।

५२ किलो ३३० ग्रामको सो रत्नपत्थरलाई गोरखकाली मन्दिरमा भगवतीको शिलाका रुपमा राख्ने निर्णय भएको जानकारी आएको उहाँले बताउनुभयो । साथै सो रत्नपत्थर पुस्तौँदेखि सुरक्षित राखेकामा घरधनी राममाया शाहीको परिबारलाई पुरस्कृत गर्ने पनि मन्त्रपरिषदले निर्णय गरेको छ ।

यसअघि मंगलबार गोरखाका सांसद राजेन्द्र बजगाईँसहित गोरखा नगरपालिकाको नेतृत्वको सामाजिक संघसंस्थाको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष सो पत्थर गोरखामै राख्ने वातावरण बनाइदिन माग गर्दै ज्ञापनपत्र पेश गरेका थिए । सरकारले सम्पूर्ण गोरखाबासीको माग सम्बोधन गरेकोमा मेयर रानाले खुशी व्यक्त गर्नुभएको छ ।

‘गोरखाको धार्मिक, ऐतिहासिक, पर्यटकीय महत्वको क्वार्ज क्रिस्टल गोरखामै राख्नुपर्ने भन्ने हाम्रो माग सम्बोधन गरेकामा प्रधानमन्त्री, गृहमन्त्री लगायत मन्त्रीपरिषदप्रति कृतज्ञता व्यक्त गर्दछौँ’, उहाँले भन्नुभयो, ‘यसलाई गोरखामै राख्नुपर्छ भनेर जो जो व्यक्तिगत, संस्थागत रुपमा खटिनु भयो, सामाजिक संघसंस्था, राजनीतिक दल, कर्मचारी वर्ग सबैलाई धन्यवाद दिन चाहन्छु ।’ केही दिनअघि खानी तथा भूगर्भ विभागको टोलीले सो पत्थरलाई बहुमूल्य क्वार्ज क्रिस्टल पहिचान गरी त्यसलाई विभागमा बुझाउन सिफारिस गरेको थियो ।

गोरखामा पुस्तौँदेखि रहेको धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण पत्थर गोरखा बाहिर पठाउन विभागले सिफारिस गरेपछि यहाँका गोरखा नगरपालिका, राजनीतिक दलहरु, गोरखा उद्योग वाणिज्य संघ, गोरखा च्याम्बर अफ कमर्श, गुरु गोरक्षधाम शक्तिकेन्द्र, ज्येष्ठ नागरिक जिल्ला संघ, लायन्स क्लव अफ गोरखा लगायत सामाजिक संस्थाहरुले प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र पेश गरी यसलाई गोरखामै राख्न माग गरेका थिए ।

साथै नागरिक स्तरबाट पनि सो रत्नपत्थरलाई गोरखामै राख्नुपर्ने चौतर्फी माग भइरहेको थियो । गत असार १४ गते गोरखा नगरपालिका ७ सतिपिपलस्थित राममाया शाहीको घरबाट सो रत्नपत्थर प्रहरीले बरामद गरी प्रहरी कार्यालयभित्रै सुरक्षित पूर्वक राखेको छ । भूगर्भविद्हरुको टोलीले दुईदिन लगाएर गरेको उक्त ढुङ्गाको परीक्षण गरेको थियो । ढुङ्गाको परीक्षण गरी विभागको टोलीले खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्यगर्ने अनुमति नलिई उत्खनन् तथा संकलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्र मार्र्फत आग्रह गरेको थियो ।

परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमुल्य रत्नपत्थर (क्वार्ज क्रिष्टल) भएको र संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकोमा बरामद गरिएको ढुङ्गा ७ औं नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए । उक्त ढुङ्गा ५२ किलो ३ सय ३० ग्राम रहेको रहेको छ । गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपिपल स्थित स्थानीयबासी राममाया शाहीको घरबाट बरामद गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology