गोरखा, १५ साउन । पूृर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईलाई आफ्नै गृहजिल्लामा चौध जना नेताले साथ छोडेका छन् । डा। भट्टराईलाई लामो समयदेखि साथ दिदै आएका गृहजिल्ला गोरखाका नेताहरुले शनिबार संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेहरुमा पार्टीका प्रदेश समितिका सदस्य सहित गोरखा नगरपालिका अध्यक्ष तथा जिल्ला सदस्यहरु रहेका छन् ।
डा। भट्टराईको नेतृत्वमा रहेका पार्टीमा मूल नेतृत्वको वरिपरी घुम्ने, व्यक्तिगत स्वार्थ र पदलोलुपताका कारण पार्टी र कार्यकर्ता बीच दुरी बढ्दै गएको महसुस भएकाले पार्टी परित्याग उनिहरुले जारी गरेको संयुक्त बिज्ञप्तिमा उल्लेख छ । पार्टी परित्याग गर्नेहरुमा गण्डकी प्रदेश समितिका सदस्य तथा गोरखा नगरपालिका पार्टी समितिका अध्यक्ष ज्वोती कोइराला, प्रदेश समितिका सदस्य रविन आर्चाय, जिल्ला पार्टी समितिका सल्लाहाकार रामहरी खनाल, जिल्ला सदस्य मिलन न्यौपाने रहनुभएको छ ।
त्यस्तै जिल्ला सदस्य कृष्णबहादुर थापा, किशोर श्रेष्ठ, भरत घले, पार्टी निकट समाजवादी बिधार्थी युनियनका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका उपाध्यक्ष सुजन गर्तौला, पूर्व प्रदेश समितिका उपाध्यक्ष हिमाल बस्नेत, जिल्ला समितिका उपाध्यक्ष कुमार ढकालले पनि संयुक्त बिज्ञप्तिमा हस्ताक्षर गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
त्यसैगरी नगरकमिटिका पूर्व उपाध्यक्ष कृष्णप्रसाद आर्याल, समाजवादी युवासंघ गोरखाका जिल्ला सदस्य किशोर बरामले पनि पार्टी परित्याग गरेको प्रेस बिज्ञप्तिमा मार्फत जनाएका छन् । बिज्ञप्तिमा उनिहरुले पार्टी बिधान भन्दापनि आफु अनुकुल चल्ने गरेको, पद बाँडफाँडमा नेतृत्व परिवर्तन गर्दै आएको आरोप लगाएका छन्् ।
‘पछिल्लो चरण अन्य पार्टी र हाम्रो बैकल्पिक भन्ने नेसपा पार्टी बिचमा कुनै भिन्नता नहुने स्थिति देखा पर्दै गयो, बिज्ञप्तिमा भनिएको छ, ‘उही पुरानो प्रवृति बाट जगडिएको नेतृत्व नै हाबी हुन् थाले पछी जनताको आशा र हामिले सोचेको बैकल्पिक शक्ति निर्माण महाअभियान यात्रा उही पुरानै बाटो तिर फर्किएको अनुभूति अहिले भएको छ ।’
मूल नेतृत्वको बिचार सहि हुँदा हँुदै पनि पटक पटक पार्टी एकताको रुपमा या अन्य कारणले पार्टीको नाम, चुनाब चिन्ह परिबर्तन हुनु र भिन्न दल संग गठबन्धन गर्नुले दीर्घकालीन रुपमा जनताले नेतृत्व प्रति नै आशंका र अविश्वास उब्जिएको उनिहरुको ठम्याई छ ।
बिज्ञपितमा उनिहरुले नेतृत्वको आत्मा केन्द्रित मनोभावना बिकशित हुदैँ जाँदा त्यसले आम जनता, कार्यकर्ता र शुभचिन्तकको भावनाको कदर गर्न नसक्ने निस्कर्ष सहित पार्टी, दल र पद त्याग गरी स्वतन्त्र भएको बिज्ञप्ति मार्फत उल्लेख गरेका छन् ।

