गोरखा, ५ साउन । गोरखाको आरुघाट गाउँपालिकाले बर्खायामको समयमा पालिका भित्रका मुख्य–मुख्य ग्रामिण सडक मर्मत सम्हारका साथै सडक सूचारु राख्न सडक हेरालु नियुक्त गरी परिचालन गरेको छ । गाउँपालिकाले पालिका भित्रका एउटा वडामा कम्ती एक जना पर्ने गरी १५ जना सडक हेरालु नियुक्त गरी परिचालन गरेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिनुभयो ।
छनोटमा परेका सडक हेरालुहरुलाई अभिमुखीकरण तालिम प्रदान गरी सडक मर्मत सम्हार र हेरचाहका लागि परिचालन गरेको उहाँले बताउनुभयो । बर्खामा सडकमा बग्ने भल तथा स–साना पहिरा समयमा नै नियन्त्रण गर्न तथा सडक सरसफाई गरी सडकको संरक्षण गर्नका लागि गाउँपालिकाले सडक हेरालु नियुक्त गरी परिचालन गरेको अध्यक्ष गुरुङ्गको भनाई छ ।
सडक हेरालु मार्फत भल तथा पहिरा व्यवस्थापन गरी मुख्य–मुख्य ग्रामिण सडक तत्काल मर्मत सम्भार गर्नसके निर्माण भइसकेका सडक पूर्वाधारका क्षति न्युनीकरण गर्न सकिने उहाँले बताउनुभयो । नियुक्त भएका सडक हेरालुहरुले गाउँपालिका, वडा कार्यालय र वडाको प्राविधिकको निगरानी र निर्देशनमा वडा भित्रमा मुख्य–मुख्य सडकमा नियमित यातायात सुचारु गर्ने गरी काम गर्ने अध्यक्ष गुरुङ्गले जानकारी दिनुभयो ।
उनीहरुको मुख्य गरी नाला सरसफाई गर्ने, खाल्डाखुल्डी पुर्ने, भल कटाउने सडकमा पानी बग्न नदिने, झाँडी तथा झारपात हटाउने, सडक अतिक्रमणबाट जोगाउने लगायतका काम गर्नेछन् । सानातिना भल पानी र पहिराले भत्काएका सडक समयमा मर्मत गर्न नसक्दा सडकमा धेरै क्षति हुने गरेको छ, उहाँले भन्नुभयो, ‘यसले लामो समयसम्म सडक पनि अवरुद्ध हुने अवस्था आउने भएकाले पालिका भित्रका मुख्य सडक बिग्रने बित्तिकै बनाउने गरी सडक हेरालुहरुले काम गर्नेछन् ।’
‘सडक हेरालुहरुलाई सडक मर्मत सम्भारमा प्रयोग हुने सामाग्री गाडा, बेल्चा, गैँची, कोदाली, घन, जावेल, कराई, टेप लगायतका आवश्यक सामग्री गाउँपालिकाले उपलब्ध गराएको छ , अध्यक्ष गुरुङ्गले, यस बाहेक सडक हेरालुको सुरक्षाका लागि आवश्यक पर्ने सेफ्टी हेल्मेट, ज्याकेट, सेफ्टी बुट र पन्जा सामाग्री पनि आवश्यकता अनुसार उपलब्ध गराइएको छ ।