Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

महिलामा पाठेघरसम्बन्धी रोग बढ्दो


819
Shares

महिलामा पाठेघरसम्बन्धी रोग बढ्दो

फुङ्लिङ, ३१ असार ।  पछिल्लो समयमा पाठेघरसम्बन्धी रोग बढ्दो देखिएको छ ।  ताप्लेजुङक फुङ्लिङ नगरपालिकाले आयोजना गरेको ‘पाठेघरसम्बन्धी स्वास्थ्य शिविर’मा पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दो देखिएको हो ।

फुङ्लिङ नगरपालिकाका उपाध्यक्ष भीमादेवी ओझाका अनुसार एक सय ८० जना महिलाको पाठेघरको परीक्षण गरिएकामा ६८ जना महिलामा समस्या देखिएको थियो । तीमध्ये १० जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको ओझाले बताउनुभयो । बुधबार र बिहीबार १० जनामध्ये पाँच जनाको सफल शल्यक्रिया गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

धनकुटास्थित जिल्ला अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा अमिताभ ठाकुर नेतृत्वमा आएको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले पाठेघरमा गम्भीर समस्या देखिएका पाँच जनाको शल्यक्रिया गरेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मौसम खवासले जानकारी दिनुभयो । शल्यक्रिया गरिएका बिरामीलाई जिल्ला अस्पताल ताप्लेजुङका चिकित्सकको निगारानीपछि घर पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

नगर उपप्रमुख ओझाका अनुसार फक्ताङ्लुङ गाउँपालिकाका एकजना र फुङ्लिङ नगरपालिकाका छ जना गरी सात जना बिरामीको शल्यक्रियाको तयारी गरिएको थियो । “एकजनाको रक्तचापमा समस्या देखिएको र एकजनाको घाउसहितको सङ्क्रमण देखिएकाले घाउ नसुकी शल्यक्रिया सम्भव नहुने चिकित्सकले बताएपछि उहाँहरुको पाठेघरको शल्यक्रिया हुन नसकेको हो”, उहाँले भन्नुभयो । स्वास्थ्यकर्मीको सल्लाह अनुसार उहाँहरुको उपचार गरिने उहाँको भनाइ थियो ।

नगरपालिकाको लामो प्रयासपछि शिविर सम्भव भएको भन्दै उपप्रमुख ओझाले चालु आर्थिक वर्षको बजेटममार्फत शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले शिविरमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी, जिल्ला अस्पतालका स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, स्वास्थ्य निर्देशनालय धनकुटालगायत स्थानीय नागरिलाई शिविर सफलतापूर्वक सम्पन्न गरेकोमा आभार व्यक्त गर्नुभयो ।

महिलाको उमेरअनुसार पाठेघरमा देखिने समस्या फरक–फरक हुने भएकाले समयसमयमा उपचार गरी परामर्श लिनुपर्ने शिविरमा संलग्न चिकित्सको भनाइ छ ।

पाठेघरमा खासगरी मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्बाशयमा ट्युमर, डिम्बाशयमा सिस्ट ९डल्लो० पलाउने, सेतो गन्हाउने पानी बग्ने, पाठेघरको सङ्क्रमणलगायत समस्या महिलामा देखिने गरेको चिकित्सकको भनाइ छ ।

जिल्ला अस्पतालका एमडिजिपी डा महेश्वर गोसाँइले महिलाले वर्षमा एक पटक पाठेघरको परीक्षण गराउनुपर्ने, महिनावारीको समयमा प्रयोग गरिने प्याड लामो समयसम्म प्रयोग गर्न नहुने, दैनिक कपडा परिवर्तन गर्नुपर्ने, यौनी बाहिरको भाग सफा र सुख्खा राख्नुपर्नेलगायत सल्लाह दिएको बताउनुभयो । नियमित व्यायामले पाठेघरलाई स्वस्थ बनाउन मद्दत गर्ने उहाँको भनाइ थियो ।

खानपानमा पौष्टिक आहारयुक्त खानेकुरा समावेश गर्ने र घरको खानेकुरालाई प्राथमिकता दिँदा धेरै रोगबाट बच्न सकिने चिकित्सक बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology