गोरखा, २६ असार । डिभिजन बन कार्यालय गोरखाले बिभिन्न प्रजातीका नब्बे हजार भन्दाबढी बिरुवा निःशुल्क वितरण गर्न सुरु गरेको छ । कार्यालय सहित सव डिभिजन मार्फत नर्सरीमा उत्पादन गरिएका बिरुवाहरु जिल्ला भित्र बृक्षारोपणका कार्य बढाउने योजना सहित निःशुल्क रुपमा वितरण गर्न सुरु गरेको कार्यालय प्रमुख असोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यालयले काष्ठजन्य, मसलाजन्य, खयर, बकाइनो, चिउरी लगायतका बिरुवा उत्पादन गरी वितरण गर्दै आएको उहाँले बताउनुभयो । ‘हामीले तीन ठाउँका नर्सरीमा बिरुवा उत्पादन गरेका छौ , उहाँले भन्नुभयो, ‘गोरखा नगरपालिकाको तीनकिलो, गण्डकी सबडिभिजन वन कार्यालय सिउरेनटर र पालुङटार सबडिभिजन कार्यालय अन्र्तगतका नर्सरीमा उन्नत जातका बिरुवा उत्पादन गरिएको हो ।’
विशेष गरेर कवुलियती वन, सामुदायिक वनमा रहेका बाँझो जमिनमा विरुवा लगेर बृक्षारोपण गर्न उपभोक्ता समिति र समुदायहरुलाई प्रोत्साहन गर्नका लागि निःशुल्क बिरुवा उत्पादन गरी वितरण गर्दै आएको प्रमुख श्रेष्ठले बताउनुभयो । ‘तीन वटा नर्सरी मध्ये पाएक पर्ने ठाउँमा पुगेर प्रक्रिया पुरा गरी बिरुवा लैजाने व्यवस्था मिलाएका छौ, प्रमुख श्रेष्ठले भन्नुभयो, ‘अधिकाशं ठाउँका उपभोक्ता समिति तथा समुदायले धेरै विरुवा लगेर पनि बृक्षारोपण गरिसकेका छन्, केही ठाउँमा अझै लैजाने क्रम चलिरहेको छ ।’ यसले समुदायस्तरमा आयआर्जन बृद्धि गर्न समेत मद्दत पुग्ने उहाँको भनाई छ ।
कार्यालयले घाँसका लागि राइखन्यु, निमारो, टाँकी, बर्रो, काभ्रो र पाखुरी लगायतका डालेघाँसका बिरुवा उत्पादन गरेको छ । त्यस्तै सौन्दर्यबद्र्धक कल्की, कपुर, म्यान्गुइष्टिक, बिरेन्द्रफूल, कपुर, धुपी, परिजात, श्रीखण्ड, अष्ट्रेलियन बबूल, गोलमोहर लगायतका विरुवा पनि नर्सरीमा उत्पादन गरी वितरण गरिरहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसवाहेक फलफुलका अम्बा, इमिली, निबुवा, लप्सी, अमला, कटहर जडिबुढी जन्य तेजपात, टीमुर, सर्पगन्दा, नीम, कुरिलो, कडिपत्ता लगायतकाको बिरुवा पनि नर्सरीबाट उत्पादन गरी वितरण भइरहेको उहाँले बताउनुभयो । डिभिजन बन कार्यालय गोरखाले हरेक बर्षजसो नर्सरी मार्फत बिरुवा उत्पादन गरी समुदायलाई वितरण गर्दै आएको छ ।