काठमााडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्नेगरी नयाँ संसद् भवन निर्माण कार्यअघि बढाउन निर्देशन दिनुभएको छ । आज निर्माणाधीन संसद् भवनको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट नै गर्नेगरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
हिउँदे अधिवेशनदेखि नयाँ संसद् भवनबाटै संसदीय गतिविधि अघि बढाउने भन्दै उहाँले सिंहदरबारस्थित संघीय संसद् भवनको निर्माण कार्यलाई युद्धस्तरमा अगाडि बढाउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै गर्न सकियोस् भन्ने सरकारको लक्ष्य रहेको भन्दै सोही अनुरुप कामको गति बढाउनुपर्ने बताउनुभयो । उहाँले संसद् भवन आधुनिक र सुविधा सम्पन्न बन्नु देशको गौरवको कुरा भएको बताउनुभयो । भवन निर्माणमा कुनै पनि गलत कुरामा सम्झौता नगर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भवन निर्माणका क्रममा आइपर्ने समस्याहरुको समाधान गर्न सरकारको सहयोग हुने बताउनुभयो ।
त्यसैगरी, सहरी विकास मन्त्री सिता गुरुङलेले भवन निर्माणको कामलाई चाँडै सम्पन्न गर्नका लागि श्रमिकहरुको संख्या बढाउन निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले श्रमिकको संख्या बढाउन आफूले पटक–पटक आग्रह गरेको भन्दै अब भने बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । उहााले कहीँ कतै नीतिगत अप्ठ्यारो परेको खण्डमा गाँठो फुकाउनका लागि सरकार तयार रहेको बताउनुभयो ।
सरकार, निर्माण व्यवसायी र श्रमिकहरु आपसमा समन्वय गरी भवन निर्माणलाई छिटो सम्पन्न गर्नुपर्नेमा मन्त्री गुरुङले जोड दिनुभयो। सरकारको उद्देश्य पूरा हुनेगरी काम गर्न उहाँले निर्माण व्यवसायीहरुलाई निर्देशन समेत दिनुभएको छ ।