गोरखा, २० असार । गोरखामा चिर्पटले युवकको हानेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको पालुङटार नगरपालिका–१, खोप्लाङ घर भएका ५३ बर्षिय पर्शुराम सुनारलाई चिर्पटले हानेर आफ्नै साथीको हत्या गरेका आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
असार १५ गते राती सामान्य विवाद भएपछि सुनारले दाउराको चिर्पट प्रहार गरी चितवनको भरतपुर महानगरपालिका–२० चन्द्रनगर घर भएका ३४ बर्षका आइतराम कामीको हत्या गरेको उहाँले बताउनुभयो । राती करिब ८ बजेको समयमा खोप्लाङका भाईकृष्ण सुनारले सञ्चालन गरेको एसउनएस एकिकृत कृषि तथा पशुपक्षी फर्ममा काम गर्दै आएका कामीलाई चिर्पटले हानेर गम्भीर घाइते भएकोमा उपचारका क्रममा मृत्यु भएको डिएसपी श्रेष्ठले बताउनुभयो ।
‘घटनापछि गम्भीर घाइते भएका कामीलाई फर्म सञ्चालक कृष्णभाईले देखेपछि गोरखा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि पोखरा पु¥याइएको रहेछ, उहाँले भन्नुभयो, ‘कामीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।’ घटनाको अनुसन्धान गर्ने क्रममा पर्शुरामले हत्या कामीको गरेको पाइएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।
मृतकका आफ्न्तले दिएको जाहेरी किटानीका आधारमा पक्राउ परेका उनले आफुले विवादका क्रममा कामीलाई चिर्पटले हिर्काएको स्विकार गरेको उहाँले बताउनुभयो । पक्राउ परेका सुनार बिरुद्ध मंगलबार कर्तब्य ज्यान कसूर शिर्षक मुद्वा दर्ता गरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।