गोरखा, १९ असार । गोरखामा बनाउदै गरेको धन्सार भत्किएर आज बिहान एक महिलाको मृत्यु भएको छ । जिल्लाको गण्डकी गाउँपालिका–४, पाटापाटी स्थित स्थानीय जगबहादुर बरामको बनाउदै गरेको धन्सार भत्किएर उहाँकी श्रीमती ४१ बर्षकी मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
धन्सार भत्किएर परिदा उहाँकोे घटनास्थलमै मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । घटनामा परि अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा मृतकका श्रीमान ४५ बर्षका जगतबहादुर बराम, २१ बर्षका छोरा सुजन बराम र छिमेकी ६५ बर्षका रामकृष्ण बराम रहेको उहाँले जानकारी दिनुभयो ।
घाइतेमध्ये रामकृष्णको अबस्था गम्भीर भएकाले उहाँलाई थप उपचारका लागि काठमाण्डौँ पठाइएको डिएसपी श्रेष्ठले बताउनुभयो । दुई बाबुछोराको अबस्था भने सामान्य रहेको उहाँले जानकारी दिनुभयो । घटनाको जानकारी पाएलगत्तै ताङ्लीचोक प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान अघि बढाएको डिएसपी श्रेष्ठले जानकारी दिनभुयो ।