गोरखा, १३ असार । गोरखा जिल्लामा दशबर्ष पुराना एम्बुलेन्सहरु संन्चालनमा ल्याउन नपाईने भएको छ । राष्ट्रिय एम्वुलेन्स निर्देशिका २०७८ को अनुसार हिजो जिल्लामा बसेको जिल्ला एम्वुलेन्स व्यवस्थापन समितिले यस्तो निर्णय गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले जानकारी दिनुभयो ।
एम्वुलेन्स चालक सँग ब्लू बुक संचालन अनुमति पत्र नविकरण भएनभएको चेकजाँच लगायतका आवश्यक कागजात माग गर्ने उहाँले बताउनुभयो । एक पटक लिएको अनुमति पत्रले दुई बर्षसम्म काम गर्छ उहाँले भन्नुभयो, ‘ त्यसपश्चात पुनः नविकरण गर्नुपर्ने हुन्छ ।’ जिल्लाभित्र एम्वुलेन्स संचालनको अनुमति लिई जिल्ला बाहिर संचालनमा रहेका एम्वुलेन्सलाई नियन्त्रणमा लिन सम्बन्धित जिल्लाका ट्राफिक र प्रहरी कार्यालयमा खवर गरिसकेको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।
भन्सार छुटमा एम्वुलेन्स ल्याउन माग गर्दै जिल्लाका आठ वटा संघसंस्थाले जिल्ला एम्वुलेन्स व्यवस्थापन समितिमा आवेदन दिएका छन् उहाँले भन्नुभयो, ‘ सात वटा स्वास्थ्य संस्था र एक वडा कार्यालयको आवेदन दिईसकेका छन् । अजिरकोट गाउँपालिकाको भच्चेक स्वास्थ्य चौकी, बारपाक सुलिकोट गाउँपालिकाको सहिद प्रेम ढकाल स्मृती आधारभूत अस्पताल, आरुघाटको थुमी स्वास्थ्यचौकी, चुमनुव्रीको सिर्दिवास स्वास्थ्य चौकी र पालुङटार नगरपालिकाको कोटगणी आधारभूत स्वास्थ्य केन्द्रले आवेदन दिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खड्काले बताउनुभयो ।
उहाँका अनुसार गण्डकी गाउँपालिकाको दर्वुङ स्वास्थ्य चौकी, सिरानचोक गाउँपालिकाको श्रीनाथकोट स्वास्थ्य चौकी र गोरखा नगरपालिका वडा नम्वर ३ को कार्यालयले पनि भन्सार छुटमा एम्वुलेन्स ल्याउन माग गरेका छन् ।