गोरखा, ११ असार । लम्पी स्कीन रोगको संक्रमण फैलदै गएपछि गोरखा नगरपालिका भित्रका तीन सय गाईभैसीलाई लम्पी स्कीन रोग बिरुद्ध खोप लगाइएको छ । गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिका भित्रका दुईवटा वडाका गाईभैसीलाई लम्पी स्कीन बिरुद्धको खोप लगाइएको पशुसेवा बिज्ञकेन्द्र गोरखाका सूचना अधिकारी डा.लालमणी अर्यालले जानकारी दिनुभयो ।
लम्पी स्कीन रोगको संक्रमण बढ्दै गएपछि रोगको जोखिम न्युनीकरण लागि नगरपालिकाको वडा नम्बर १३ र १४ मा पर्ने याङकोट क्षेत्रमा गाईभैसीमा खोप अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । ‘अहिलेसम्म तीन सय गाईभैसीमा लम्पी स्कीन रोग बिरुद्धको खोप लगाई सकिएको छ, उहाँले भन्नुभयो, ‘गोरखा जिल्लामा पहिलो पटक लम्पी स्कीन रोग बिरुद्ध खोप लगाइएको यो नै पहिलो पटक हो ।
खोप कार्यक्रम सञ्चालनका लागि बुढीकोटी दुग्ध उत्पादन सहकारी संस्थाले आर्थिक सहयोग गरेको डा.अर्यालले बताउनुभयो । लम्पी स्कीन रोग लागेपछि पशुबस्तुको दुग्ध उत्पादनमा ह्रास आउने मात्र नभई समयमा उपचार नभए बस्तुबस्तुको मृत्यु समेत हुने डा. अर्यालको जानकारी दिनुभयो ।
‘पशुबस्तुमा यो रोगको लक्षण देखिने बित्तिकै पशु चिकित्कसंग परामर्स गरी उपचार गर्नुपर्छ, उहाँले भन्नुभयो, ‘एक पशुबस्तुबाट अर्को पशुबस्तुमा सर्न नदिन रोग लागेको पशुबस्तुलाई निरोगी पशुबस्तुबाट अलग राखेर उपचार गर्ने व्यवस्था मिलाउन सके रोग सर्नबाट कम गर्न सकिन्छ ।’ गोरखा जिल्ला भित्र पाँचभन्दा बढी स्थानीय तहहरुमा लम्पी स्कीन रोगको संक्रमण फैलिए सकेको छ ।
जिल्लाको भीमसेन थापा गाउँपालिका, शहीद लखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, गण्डकी गाउँपालिका र धार्चे गाउँपालिकामा लम्पी स्कीन रोगको संक्रमण फैलिएको पशुसेवा बिज्ञकेन्द्र गोरखाले जनाएको छ । लम्पी स्कीन रोगका कारण अहिलेसम्म ५८ वटा भन्दबढी पशुको मृत्यु भइसकेको छ । रोग नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा पशुचौपाय ओसारपोसार नगर्न, चरन क्षेत्रमा नलैजान कार्यालयले आग्रह गरेको छ ।