गोरखा, ८ असार । जिप दुर्घटनामा परी ज्यान एकैै गाउँका पाँच जनाले ज्यान गुमाएपछि सहिद लखन गाउँपालिकाले आज पालिका भित्र शोक विदा गरेको छ । गाउँपालिकाले वडा नम्बर ३ सिलिङमा आज बिहान जिप दुर्घटनामा परी वडा नम्बर –५ ताक्लुङ पोखरीडाँडा घर भएका पाँच जनाको मृत्यु भएपछि शोक मनाउन पालिका भित्र शोक विदा दिइएको प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगरले जानकारी दिनुभयो ।
विदामा पालिका, पालिका भित्रका सवै वडा र पालिका अन्र्तगतका सवै कार्यालयहरु, शिक्षण संस्थाहरु बन्द हुने उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले यस घटनाले सिंगो गाउँपालिकालाई स्तव्ध बनाएको भन्दै मृतक प्रति श्रदान्जली प्रकट गर्न शोक विदा दिइएको बताउनुभयो ।
सहिद लखन गाउँपालिका वडा नम्बर ५ ताक्लुङ स्थित पोखरीडाँडा तर्फ दुलही बोकेर फर्कदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप सिलिङ भन्ने ठाउँमा सडकबाट करिब २ सय ५० मिटर तल खसेर हुँदा २५ बर्षका प्रविन थापा, १८ बर्षका निरज थापा, २४ बर्षका बिरबहादुर थापामगर, १७ बर्षकी नविना थापा र ६४ बर्षका धनबहादुर थापा ज्यान गएको थियो । त्यस्तै दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।