गोरखा, ७ आसर । गोरखाको भीमसेन थापा गाउँपालिकाले बर्खायामको समयमा पालिका भित्रका मुख्य–मुख्य ग्रामिण सडकहरु सूचारु राख्न सडक हेरालु नियुक्त गरी परिचालन गरेको छ । गाउँपालिकाले पालिका भित्रका एउटा वडामा कम्ती एक जना पर्ने गरी १० जना सडक हेरालु छनोट गरी अभिमुखीकरण प्रदान गरेर सडक मर्मत सम्हार र हेरचाहका लागि परिचालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।
बर्खा लागेसंगै सडकमा बग्ने भल तथा स–साना पहिरा समयमा नै नियन्त्रण गर्न नसक्दा पछि बढी क्षति हुने गरेकाले समयमै भल तथा पहिरा व्यवस्थापन गरी मुख्य–मुख्य ग्रामिण सडक मर्मत सम्भार गर्न सके निर्माण भइसकेका सडक पूर्वाधारका क्षति न्युनीकरण गर्न सकिने भएकाले सडक हेरालु भर्ना गरेर परिचालन गरेको उहाँले बताउनुभयो ।‘गाउँपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममै सडक स्याहार सम्हार तथा मर्मतका लागि सडक हेरालु नियुक्त गरेर परिचालन गर्ने नीति लिएको थियो, उहाँले भन्नुभयो, ‘अन्य बेला भन्दापनि बर्खायामको समयमा सडक हेरालुको आबश्यकता बढी पर्ने भएकाले पहिलो पटक चार महिनाका लागि नियुक्ती दिएर उहाँहरुलाई काममा खटाएका छौ ।
’नियुक्त भएका सडक हेरालुहरुले वडा कार्यालय र वडाको प्राविधिकको निगरानी र निर्देशनमा वडा भित्रमा मुख्य–मुख्य सडकमा नियमित यातायात सुचारु गर्ने गरी काम गर्ने उहाँले बताउनुभयो । उनीहरुको मुख्य गरी नाला सरसफाई गर्ने, खाल्डाखुल्डी पुर्ने, भल कटाउने सडकमा पानी बग्न नदिने, झाँडी तथा झारपात हटाउने, सडक अतिक्रमणबाट जोगाउने लगायतका काम गर्ने प्रशासकिय अधिकृत अधिकारीले जानकारी दिनुभयो । सानातिना भल पानी र पहिरोले भत्काएका सडक समयमा मर्मत गर्न नसक्दा सडकमा धेरै क्षति हुने गरेको छ, उहाँले भन्नुभयो, ‘यसले विकासमा थपभार पर्ने मात्र नभई लामो समयसम्म सडक पनि अवरुद्ध हुने अवस्था आउने गरेकाले यो वर्षदेखि पालिकाभित्रका मुख्य सडक बिग्रने बित्तिकै बनाउने गरी सडक हेरालु परिचालन गरेका छौ ।
’सडक हेरालुहरुलाई सडक मर्मत सम्भारमा प्रयोग हुने सामाग्री गाडा, बेल्चा, गैँची, कोदाली, घन, जावेल, कराई, टेप लगायतका आवश्यक सामग्री उपलब्ध गराएको छ , उहाँले भन्नुभयो, यस बाहेक सडक हेरालुको सुरक्षाका लागि आवश्यक पर्ने सेफ्टी हेल्मेट, ज्याकेट, सेफ्टी बुट र पन्जा सामाग्री पनि हस्तान्तरण गरिएको छ ।’सडक हेरालुहरुको कामको गाउँपालिका र वडाले अनुगमनको व्यवस्था पनि मिलाएको प्रमुख प्रसाकिय अधिकृत अधिकारीले बताउनुभयो ।
गाउँपालिकाले छनोटमा परेका सवैलाई तालिम तथा अभिमुखीकरण प्रदान गरी नियुक्त पत्र दिएर काममा खटाइएको उहाँले जानकारी दिनुभयो । पालिका भित्रका सवै मुख्य सडकहरु समेत कच्ची भएकाले हरेक वर्ष बर्खा लागे संगै भल बाढीले सडकमा क्षति पुग्ने र बर्खाभरी नै अवरुद्ध हुने हुँदा नागरिकहरुले हरेक बर्ष सास्ती खेप्दै आउनु परेको छ ।