गोरखा, ७ असार । गोरखाको पालुङटार नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘समाजवादको आधार निर्माणको अभियान, सुन्दर र समृद्ध पालुङटार हाम्रो शान’ भन्ने मूल नाराका साथ नगरपालिकाको १३ औँ नगर सभामार्फत आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको नगरप्रमुख बिबस चिन्तनले जानकारी दिनुभयो । नीति तथा कार्यक्रममा ल्याएर बैदेशिक रोजगारीबाट फर्किएकाहरुका लागि गाउँमा रोजगारीको अबसर गर्न जोड दिइएको उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारीबाट फर्किएकालाई कर्जा, ‘किसानका गरा सधैँ हराभरा’ भन्ने नाराका साथ बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई गाउँमा व्यवसाय सञ्चालन गर्न जोड दिइएको छ, उहाँले भन्नुभयो, ‘त्यस वाहेक अघिल्ला वर्षका योजनाहरुलाई पनि कार्यक्रममा निरन्तरता दिइएको छ ।’ नीति तथा कार्यक्रममा अघिल्ला वर्षमा कार्यान्वयन नभएका या अधुरा भएका योजनाहरु सम्पन्न गर्ने मूख्य लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
त्यस्तै कृषिमा आधारित ग्रामीण अर्थतन्त्रको विकास गरी स्वरोजगारको माध्यमद्वारा सम्बृद्ध पालुङटार निर्माण गर्ने योजनामा नीति तथा कार्यक्रममा रहेको छ । नगरपालिकाले सार्वजनिक गरेको नीति कार्यक्रम तथा योजना तथा आवधिक विकास योजना, जलवायु परिवर्तन र विपद् व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षा, लैङ्गिक सशक्तीकरण तथा समावेशी विकास, बालमैत्री तथा वातावरणमैत्री स्थानीय शासन, पूर्ण सरसफाइ लगायतका विषयलाई पनि प्राथामिकता दिइएको उहाँले बताउनुभयो ।
नगरपालिकाले सार्वजनिक गरेको नयाँ कार्यक्रमहरुमा यस बर्ष किसानका गरा सधैँ हराभरा, नगरप्रमुखसँग लोक कल्याणकारी किसान कोष कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रम, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा नै व्यवसाय गर्न चाहने युवा उद्यम व्यवसायीलाई सहुलियत ब्याजदरमा ऋण व्यवस्था लगायतका कार्यक्रम रहेका छन् । नगरपालिकालाई पर्यटकीय सुन्दर नगरीको रूपमा चिनाउने तथा आन्तरिक एवं वाह्य पर्यटक भित्र्याएर थप आर्थिक अवसरहरू गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
भुलभुलेखार तातोपानीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने, नगर स्तरीय सहिद स्मृति पार्कको स्थापना, प्रविधिमैत्री सहकारी अवधारणा, छुवाछुत मुक्त नगरपालिका, विपन्न वर्गहरूको लागि विशेष कार्यक्रमको अवधारणाको लक्ष्य रुपमा नगरपालिकाले लिएको छ । त्यस वाहेक नगर उपप्रमुखसँग अभिभावक विहीन अति विपन्न विद्यार्थी सहयोग कार्यक्रम, उत्कृष्ट शिक्षक प्रोत्साहन, जेहनदार विद्यार्थीलाई छात्रवृत्ति, आवासीय मेघा विद्यालय, कृषि क्याम्पस सञ्चालन गने लगायतका कार्यक्रम पनि यस बर्षको नीति तथा कार्यक्रममा परेका छन् ।
त्यस्तै आँपपिपल अस्पताललाई ५० शैयामा स्तर उन्नती गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने, स्याटलाइट क्लिनिक सञ्चालन गर्ने, नवजात शिशुको बैंक खाता २ हजार जम्मा गर्ने, गरिब बिरामीसँग मेयर कार्यक्रम, ज्येष्ठ नागरिकलाई घर घरमा निःशुल्क स्वास्थ्य परीक्षण, उप–प्रमुखसँग सुत्केरी पोषण नीति तथा कार्यक्रममा समेटिएको नगरप्रमुख चिन्तनले बताउनुभयो ।