Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा बोकोर्लोक ताल र बसपार्क निर्माण गर्न स्थानीयबासीहरु सहमत


7.8K
Shares

गोरखामा बोकोर्लोक ताल र बसपार्क निर्माण गर्न स्थानीयबासीहरु सहमत

गोरखा, ३१ जेठ । गोरखा नगरपालिका–९, ठिगुरेस्वाँरामा बोकोर्लोक ताल तथा बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराउन स्थानीयबासीहरु सहमत भएका छन् । ताल र बासपार्क निर्माणका लागि गठित स्थानीय समितिको पहलमा त्यस क्षेत्रका स्थानीयबासीहरुले जग्गा उपलब्ध गराउन सहमत भएको स्थानीय समितिका संयोजक होमसिंह बस्न्यातले जानकारी दिनुभयो ।

गोरखाका गौरवको योजनाको रुपमा बोकोलोर्क ताल निर्माणका लागि स्थानीयबासीहरु तयार भएको उहाँले बताउनुभयो । ताल निर्माणका लागि प्रस्ताव गरिएको स्थानमा करिब २ सय जना भन्दाबढी घर परिवारको जग्गा पर्ने भएपनि उनीहरु जग्गा दिन तयार रहेको संयोजक बस्नेतले जानकारी दिनुभयो ।

‘बोकोर्लोक ताल निर्माणका लागि पन्चायतकालमा नै एक पटक डिपिआर भएको थियो तर त्यो त्यत्तिकै हरायो, उहाँले भन्नुभयो, ‘निर्वाचनका बेला ताल निर्माणका लागि सवै उमेद्वारहरुले पहल गर्ने प्रतिबद्धता जनाउने गरेको भएपनि जितेर गएपछि त्यसलाई भूल्ने गरेका छन् ।’ संयोजक बस्न्यातले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई समेत ताल निर्माणका लागि पहल गरिदिन आफुहरुले माग गरेको बताउनुभयो ।

‘प्रधानमन्त्री र गण्डकी प्रदेशका मूख्यमन्त्रीलाई समेत बोकिलोर्क ताल निर्माणका लागि ज्ञापन पत्र बुझाइएको छ, उहाँले भन्नुभयो, ‘उहाँहरुले यस बिषयमा सकारात्मक धारणा व्यक्त गर्नुभएको छ ।’ संयोजक बस्नेतले गोरखा नगरपालिकाले बोकोर्लोक ताललाई गौरवको योजनाको रुपमा अघि बढाउनु पर्ने बताउनुभयो ।

उहाँले नगरप्रमुख कृष्णबहादुर रानामगर र उपप्रमुख मसली माया थोकरले ताल र बसपार्क निर्माण गर्न पहल गरिएको क्षेत्रको स्थलगत अवलोकन गरी निर्माणका लागि प्रक्रिया सुरु गर्न नगरपालिका तयार रहेको बताउनु भएको जानकारी दिनुभयो । बोकिलोर्क ताल निर्माण गर्न सके पर्यटन बिकास मार्फत सिंगो गोरखा जिल्लाले आर्थिक सामाजिक रुपमा फाइदा लिनसक्ने उल्लेख गर्नुभयो ।

त्यस्तै ताल निर्माणका हुँदा स्थानीय स्तरमा समेत पर्याप्त रोजगारीको सम्भावना समेत बढ्ने स्थानीयबासीहरुको भनाई छ । त्यस्तै प्रस्तावित ताल निर्माणस्थल संगै करिव २ सय रोपनी क्षेत्रफल जमिनमा गोरखा बसपार्क निर्माण गर्न समेत स्थानीयबासीहरुले प्रस्ताव गरेका छन् । ‘बसपार्कका लागि करिब ७० घरपरिवारको जग्गा पर्ने अनुमान गरिएको छ, उहाँले भन्नुभयो, ‘धेरैजसोको लालपुर्जा समेत संकलन गरी जग्गा उपलब्ध गराउन सहमति पत्रमा हस्ताक्षर समेत गराई सकिएको छ ।’

गोरखा नगरपालिकाका सवै वडाको मध्यभागमा पर्ने तथा गोरखा आवुँखैरेनी सडक खण्डसंग जोडिएको क्षेत्र भएकाले उक्त क्षेत्र बसपार्कका लागि उपयुक्त हुने संयोजक बस्नेतको भनाई छ । बसपार्क निर्माणका लागि करिब दुई सय रोपनी जग्गा आवश्यक पर्ने अनुमान गरिएको भन्दै उहाँले त्यसमा ४ सयवटा सवारी साधन आउजाउ र पार्किङका लागि उपयुक्त हुने उहाँको भनाई छ ।

‘सम्म धरातल भएका र सदरमुकामबाट जिल्लाका अन्य क्षेत्रमा सवारी छुट्न्का लागि अहिले बसपार्क निर्माण गर्न प्रस्ताव गरिएको क्षेत्र उपयुक्त हुने स्थानीयबासीहरुको भनाई छ । ‘बजार नजिक प्रसस्त जग्गा अन्य ठाउँमा नरहेको र सम्म धरातल भएकाले निर्माणका कम खर्च हुने हाम्रो अनुमान छ, संयोजक बस्न्यातले भन्नुभयो, ‘यो ठाउँ बसपार्क निर्माणका लागि सवैभन्दा उपयुक्त ठाउँ भएको हाम्रो ठम्याई छ ।’

बसपार्क निर्माणका लागि जिल्ला समन्वय समिति र नगरपालिकासंग डिपिआरका लागि आफुहरुले छलफल गरी रहेको उहाँले बताउनुभयो । बसपार्क निर्माणका लागि स्थानीय समितिले गएको बैशाख ९ गते र बोकिलोर्क ताल निर्माणका लागि जेठ ६ गते जग्गाका मोहीहरुसंग छलफल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology