गोरखा, ३० जेठ । गोरखाका तीन वटा विद्यालयहरुलाई करिब चार लाख रुपैया बराबरको फर्निचर लगायतका सामाग्री सहयोग प्रदान गरिएको छ । जिल्लाको धार्चे गाउँपालिका–६,काशीगाउँमा रहेका बिधालयहरुलाई सामाग्री वितरण गरिएको वडाध्यक्ष धनबहादुर घलेले जानकारी दिनुभयो ।
एलजास नेपालको आर्थिक सहयोग तथा हिमाली साइनो फाउण्डेसन र लेस विस्तारित संस्थाको सहकार्यमा विद्यालयलाई फर्निचर सहितका सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । काशीगाउँमा रहेको मन्जुश्री मावि, चन्द्रदेवी, सूर्यदेवी आधारभूत बिद्यालयलाई सामाग्री प्रदान गरिएको वडाध्यक्ष घलेले जानकारी दिनुभयो ।
फाउण्डेसनका अध्यक्ष धनप्रसाद गुरुङ र लेस विस्तारित संस्थाका संस्थापक संयोजक इत्ता गुरुङले केहि दिन सो सामग्री वडा कार्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त सामाग्री वडाध्यक्ष घलेले विद्यालयलाई उपलब्ध गराएको हो ।
विद्यालयलाई दराज, कुर्ची, फिल्टर, स्पीकर लगायतका सामग्री उपलब्ध गराएको उहाँले बताउनुभयो । संस्थाहरुले विद्यालयहरुलाई उपलब्ध गराएको शैक्षिक सामाग्रीको मूल्य करिव ४ लाख रुपैया बरावरको रहेको वडाध्यक्ष घलेले बताउनुभयो ।…दीपक श्रेष्ठ