गोरखा, २९ जेठ । गोरखामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । गोरखा नगरपलिकाको ‘विवादको साटो मेलमिलापको बाटो’ भन्ने नारासहित आज (सोमबार)देखी तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै मेयर कृष्ण बहादुर रानाले मेलमिलाप सम्बन्धी आधारभूत तालिम सिकेर गोरखा नगरपालिकालाई न्यायिक, नमुना र उदहरणीय नगर बनाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले गाँउघरको समस्या स्थानीय स्तरमा नै मिलाउनु पर्ने बताउनुभयो । सानो झगडा पनि माथिल्लो निकायमा गयो भनी बढेर ठुलो र झनझटिलो बन्न सक्ने भएकाले गाँउमै समाधान गर्नका लागी मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु गरिएको मेयर रानाको भनाई छ । नगरपालिकाको न्यायिक समितिको अध्यक्ष समेत रहनु भएकी उपप्रमुख मसली माया थोकर सपना पुनले स्थानीय विवादलाई वडा बाटै निरुपण गर्नु पर्ने बताउनुभयो ।
मेलमिलाप कर्ता हो भनेर मुखले भन्दा व्यवहारले देखाउनु पर्ने उहाँको भनाई छ । तालिममा नगरपालिका भित्रका १४ वटै वडाका वडाबाट सिफारिस गरिएका करिब ५० जनाकोे सहभागिता रहेको छ । तालिमलाई ४ जनाले आलोपालो गरी सहजीकरण गर्ने भएका छन् ।
मेयर रानाको प्रमुख अतिथ्यता तथा उपमेयर थोकरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा, प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पुन नगरपालिकाको कार्यापालिका सवित्रा थापा पुलामी मगर, न्यायिक समिताका सदस्यलगायतको उपस्थिती रहेको थियो । प्राकृतिक द्धन्द रुपान्तरण केन्द्र नेपालको प्रविधिक सहयोगमा भएको तालिम असार ४ गते सम्म चल्ने आयोजकले जनाएको छ ।