गोरखा, २९ जेठ । गोरखाका बिभिन्न चार वटा प्रहरी चौकीलाई विपत प्रतिकार्य सामाग्री प्रदान गरिएको छ । सहिद लखन गाउँपालिकाले पालिका भित्र रहेका मनकामना प्रहरी चौकी, बुङ्कोट प्रहरी चौकी, राइनास प्रहरी चौकी र ताक्लुङ प्रहरी चौकीलाई विपत प्रतिकार्य सामाग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।
गाउँपालिकाले प्रहरी चौकीहरुलाई विपतका लागि आवश्यक पर्ने अत्यावश्यक सामाग्रीहरु मल्टिपर्पोज नाइफ, लाइफ ज्याकेट, रेस्क्यू रोप, फायर एक्स्टीङगुइसर सामाग्री उपलब्ध गराएको उहाँले बताउनुभयो ।
त्यस्तै फायर फाइटिङ सुट, फायर प्रुफ गम्वुट, लगायतका २१ प्रकारका विपत प्रतिकार्य सामाग्री प्रहरी चौकीहरुलाई उपलब्ध गराएकोे अध्यक्ष थापामगरको भनाई छ । प्रहरी चौकीहरुलाई प्रदान गरिएको विपत प्रतिकार्य सामाग्रीहरु करिव १५ लाख रुपैया बराबरको रहेको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सहमती नेपाल नामक संस्था तथा गाउँपालिकाको संयुक्त सहकार्य र समन्वयमा सामग्री खरिद गरेर वितरण गरिएको अध्यक्ष थापामगरले बताउनुभयो ।
‘विपत प्रतिकार्य सामाग्री सामाग्रीको अभावमा विपतका बेला सुरक्षाकर्मीहरुलाई कार्य गर्न समस्या नहोस् भने उद्देस्यले उक्त सामाग्रीहरु उपलब्ध गराइएको हो, उहाँले भन्नुभयो, ‘आवश्यक स्रोत साधन भएमात्र प्रहरीलाई जस्तो सुकै विपतमा भूमिका खेल्न सहज हुनेछ भन्ने हाम्रो विश्वास छ ।’
गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी आइतवार गाउँपालिका अध्यक्ष थापामगरले प्रहरीचौकीहरुलाई सामाग्री हस्तान्तरण गर्नुभएको स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रका सम्र्पक व्यक्ति मेघनाथ प्रसाद यादवले जानकारी दिनुभयो ।
सामाग्री वितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर लगायतको सहभागिता रहेको थियो ।