गोरखा, २२ जेठ । अजिरकोट गाँउपालिकाको भच्चेक वृहत् निःशुल्क स्वास्थ्य शिविरबाट८५३ जना लाभान्वित भएका छन् । स्थित नेपाली सेना (रिपुमर्दन गण) र अजिरकोट गाउँपालिकाको संयुक्त आयोजनामा भएको दुई दिने शिबिरमा ४८१ महिला र ३७२ पुरुष गरी जम्मा ८५३ जना लाभान्वित भएको रिपुमर्दन गणका गणपति प्र.से. हेमराज बिष्टले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकामबाट टाढा रहेको अजिरकोट गाउँपालिका तथा आसपासका ईलाकाहरुमा बसोबास गर्ने विपन्न वर्गलाई लक्षित गरी संचालन गरिएको शिविरमा हाड जोर्नी, स्त्री रोग, चर्म रोग, नाक/कान/घाटी, आँखा, जनरल ओ.पि.डि.सम्बन्धी बिभिन्न सेवाहरु प्रदान गरिएको उहाँले बताउनुभयो । शिविरमा नेपाली सेना तथा गैह्र सैनिक बिशेषज्ञ गरि ११ जना बिशेषज्ञ चिकित्सकहरु प्रत्यक्ष रुपमा संलग्न रही उपचार गर्नु भएको थियो ।
उक्त शिविरमा सैनिक अस्पताल पोखरा, नं.३ फि.ए. गुल्म खैरेनीटार, जिल्ला अस्पताल गोरखा, जिल्ला जनस्वास्थ्य कार्यालय गोरखा, गोरखा नगरपालिका, अजिरकोट गाँउपालिका, भच्चेक आधारभुत अस्पताल साथै सुर्गीसाइन इनटरपाइजेज प्रा.लि, काठमाण्डौंबाट सहयोग स्वरुप प्राप्त औषधीहरु निःशुल्क वितरण गरिएको थियो। शिविरको अवसरमा पालिका भित्रका विभिन्न विद्यालयका करिब २५० जना विद्यार्थीहरुलाई नेपाली सेना सम्बन्धी विविध जानकारी र चेतनामुलक कार्यक्रमहरु संचालन गरिएको थियो । शिविर संचालन स्थलमा विभिन्न प्रजातीका करिब तीन सय बिरुवाहरु वृक्षारोपण समेत गरिएको थियो ।
कार्यक्रमकै अवसरमा भच्चेक बजारबाट काफलडांडा हुंदै लम्जुङ्ग जिल्ला जोड्ने बाटोको स्तरोन्नतिको लागि नेपाली सेना (श्री रिपुमर्दन गण) ले आफ्नो नाममा रहेको जग्गा अजिरकोट गाउँपालिकालाई हस्तान्तरण गरेको हो । समापन कार्यक्रममा शिविरमा खट्टिने विभिन्न व्यक्ति, संघ—संस्था र सहयोगी निकायहरुलाई अजिरकोट गाँउपालिकाका अध्यक्ष दिपक देवकोटा र नेपाली सेना नं. ३ बाहिनीपति सहायक रथी गौरव कुमार केसीले प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।