गोरखा, २ जेठ । भिमसेन थापा गाँउपालिका र आरुघाट गाँउपालिकाको संयुक्त प्रयासमा मिनरल वाटर उत्पादन गर्ने भएको छ । अरुघाट गाँउपालिकाका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा आज बसेको अन्तरपालिका बैठकले संयुक्त प्रयासमा खानेपानीका स्रोतहरूबाट मिनरल वाटरको सम्भाव्यता खोजी गरी सेवा प्रदान गर्ने निर्णय गरेको हो ।
दुई पालिका बाहेक अन्यत्र बसोबास गर्ने आम जनतालाई स्वस्थ्य स्वच्छ तथा सफा खानेपानीको पहुँच मा ल्याउनका लागी सो निर्णय गरिएको भिमसेन थापा गाँउपालिकाका अध्यक्ष लोक प्रसाद बञ्जाराले जानकारी दिनुभयो । आरुघाट गाँउपालिकामा रहेको खानेपानी तथा सरसफाई समितिको प्रशोधन प्लान्ट बाट सम्भाव्यता अध्ययनको सुरुवात गर्ने उहाँले बताउनुभयो ।
भिमसेन र आरुघाट गाँउपालिकाको सिमानामा निर्माण गरेका पालिका प्रवेशद्धार निर्माण गर्दा आपसि छलफल र समन्वय नभएको हुँदा आगामी दिनमा प्रवेशद्धार निमार्ण गर्दा छलफल तथा आवश्यक समन्वय गरि गर्ने निणर्य गरिएको उहाँले बताउनुभयो ।
बैठकमा अध्यक्षद्धय बञ्जारा, थापा आरुघाट गाँउपालिकाकी कल्पना नेपाली, प्रमुख प्रशासकिय अधिकृत टिका बहादुर गोदार, खानेपानी तथा सरसफाई समिति प्रशोधन प्लान्टका श्रषि प्रसाद खनाल, वडा नं. ३ का अध्यक्ष टेक बहादुर अधिकारीलगायतको उपस्थिती रहेको थियो ।