गोरखा,२ जेठ । गोरखाको गोरखनाथ मन्दिरमा २०औं सवालाख रोट महोत्सव सम्पन्न भएको छ । बैशाख २२ गतेबाट सुरुभएको महोत्सव जेठ १ गते आज अन्तिम दिन बैदिक विधी अनुसार दसांश हवन गरेर सम्पन्न गरिएको महोत्सवका संयोजक रामजी अर्यालले जानकारी दिनुभयो ।
०५९ साल यताकै उत्साहजनक महोत्सव भएको भन्दै आगामी दिनमा पनि भक्तजनहरुबाट यस्तै प्रकारको सहभागीताकोअपेक्षा रहेको उहाँले बताउनुभयो ।उहाँका अनुसार गएको सनिबार मात्रै २० हजार भक्तालुजनहरुको उत्साह पुर्बक सहभागीता रहेको थियो ।
आयोजकले महोत्सव अवधिभर ३० हजार श्रद्वालु भक्तालुजनहरुको सहभागीता अपेक्षा भएतापनि यस पटकको महोत्सवमा ४० हजारभन्दा बढीले महोत्सवको अबलोकन गरेका थिए । महोत्सवमा भारतको गुजरातबाट नाथ संप्रदायका मानिसहरुको सहभागीता रहेको थियो भने संयुक्त राज्य अमेरिकाबाट पनि ५ जनाको टोलीले महोत्सवमा सहभागीता जनाएका थिए ।
भारत र अमेरिकाबाट आएका उनीहरुले हवन कार्यमा समेत सहभागीता जनाका थिए। महोत्सव अवधिभर केन्द्रले दरवार परिषरमा रहेको कार्यालय भवनमा भक्तजनहरुलाई निःशुल्क खाना बासको ब्यबस्था गरेको थियो ।
सिद्धाश्रम शक्ति केन्द्रले आयोजना गरेको रोट महोत्सव हरेक बर्ष बैशाख पुर्णिमाबाट सञ्चालन हुने गर्दछ । सिद्वाश्रम शक्ति केन्द्रको आयोजना भएको महोत्सवमा ११ दिनको अवधिमा गुरु गोरखनाथलाई १ लाख ६१ हजार रोट अर्पण गरिएको आयोजकले जानकारी दिएको छ ।