गोरखा, १ जेठ : गोरखामा गएराती भएको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गण्डकी गाउँपालिका–६, घौचुरमा बा ०१–०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
दुर्घटनामा परि गण्डकी गाउँपालिका वडा नम्बर ६ घर भएकी ७८ बर्षकी किरमाया आलेको मृत्यु भएको उहाँले बताउनुभयो । काठमाण्डौबाट घौचुर तर्फ जाँदै गरेको बलेरो जिप कच्ची सडकबाट खसेको उहाँको भनाई छ । दुर्घटनामा परि गम्भीर घाइते हुनुभएकी आलेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी लामिछानेले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा सोही ठाउँका ७७ बर्षकी कनमाया आले, ७८ बर्षका धनबहादुर आले, ८१ बर्षका तिर्थबहादुर आले, ७२ बर्षका पूर्णबहादुर थापा र ६५ बर्षकी गंगामाया थापा रहनु भएको छ । घाइते सवैको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
दुर्घटनापछि जिप र जिपका चालक ४३ बर्षिय केहरसिं थापालाई नियन्त्रण नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डिएसपी लामिछानेले जानकारी दिनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।