काठमाडौं । संघिय सरकारले देशभर लागू हुने गरी नया शैक्षिक सत्रबाट विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म तोक्ने तयारी गरेको छ । अहिले सम्म आधिकारिक विद्यालय समय भने १०–४ लाई बुझ्ने गरिदै आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्न र गराउन भनेको शिक्षा मन्त्रालयले जानकारी दिएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका एक जना सचिव महेशप्रसाद दाहालले भन्नुभयो ‘यो निर्णय देशभर र सबै विद्यालयहरुमा लागु गर्ने कुरामा छलफल भइरहेको छ, हामी पनि सरोकारवालासँग छलफल गरिरहेका छौं ।’ काठमाडौं उपत्यका र अन्य ठूला सहरमा ट्राफिक जामको समस्या बढेपछि विद्यालयहरु छिटो खोल्ने र छिटो बन्द गर्ने निष्कर्षमा पुगिएको हो,’ शिक्षा सचिव दाहालले भन्नुभयो ।
यो निर्णय खासगरी निजी विद्यालय लक्षित छ । प्रायः सबैजसो बोर्डिङ स्कुलहरुले गाडीबाट विद्यार्थीहरु ल्याउने लैजानेगर्दै आएका छन । । सार्वजनिक सवारी साधन, सरकारी सवारी साधन, निजी र विद्यालयका गाडीहरुसमेत एउटै समयमा सडकमा निस्कदा घण्टौं जाम हुने समस्याका कारण उस्तो निर्णय लिन लागिएको मन्त्रालयले जानकारी दिएको छ ।
छलफलमा प्याब्सन, एनप्याब्सन, हिसान, ट्राफिक प्रहरीका अधिकारी, अभिभावकका प्रतिनिधि तथा काठमाडौं, ललितपुर, भक्तपुर र मध्यपुर ठिमी नगरपालिकाका प्रतिनिधिहरु उपस्थित भएका थिए ।