गोरखा, २६ वैशाख । गोरखाको भिमसेन थापा गाँउपालिकामा दुई दिने स्त्री रोग तथा पाठेघरको मूखको क्यान्सर जाँच तथा उपचार शिविर हुिने भएको छ । गाँउपालिकाको आयोजना तथा नेपाल अस्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा बैशाख २९ र ३० गते स्त्री रोग सम्बन्धी शिविर हुन लागेको हो ।
गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्र बहादुर अधिकारीका अनुसार पहिलो दिन ६, ७, ८ वडाका महिलाहरुलाई पाइक पर्ने गरी बोर्लाङ स्वास्थ्य चौकीमा शिविर हुनेछ । यस्तै दोस्रो दिन १, २, ३, ४ र ५ नं. वडाका महिलाहरुलाई लक्षित गरी खाञ्चोक स्वास्थ्य चौकी घ्याम्पेशालमा शिविर हुने उहाँले बताउनु्भयो ।
शिविर स्त्रीरोग तथा पाठेघरको मूखको क्यान्सर जाँच गरी उक्त जाँचबाट थप उपाचार गर्नुपर्ने देखिएमा थ्रेमोकोबुलेशन विधिबाट क्यान्सरको रोकथाम तथा उपचार गरिने गाँउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
आर्थिक वर्ष २०७९ फागुन १३ गतेदेखि २० गते सम्म पालिका भित्रका ८ वटै वडाहरुमा संचालन भएकोे शिविरबाट थप उपचारका लागि गरिएका महिलाहरुको समेत थप जाँच तथा उपचार हुने प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताउनुभयो ।