गोरखा, २६ वैशाख । कक्षा १२ को वार्षिक परीक्षामा यो वर्ष जिल्लाबाट करिब ३ हजार विद्यार्थी सहभागी भएका छन् । आजदेखि सुरु भएको कक्षा १२ को वार्षिक परीक्षाका लागि जिल्लामा ११ वटा केन्द्र तोकिएको शिक्षा समन्वय समिति गोरखाले जनाएको छ ।
सो परिक्षमा दुई हजार ८ सय १७ जना विद्यार्थी सहभागी भएको शिक्षा समन्वय समिति गोरखाका प्रमुख सुवास आचार्यले जानकारी दिनुभयो । जसमा ११ परीक्षा केन्द्र मध्य दुल्लब माद्यमिक विद्यालयबाट ३३० जना, भिमोदय मा.वि आरुघाटबाट २ सय ३८ जना, भगवति मा.वि ठाँटीपोखरीबाट लम्जुङका ११० जनासहित ३ सय २५ जनाले परीक्षा दिने गरी केन्द्र तोकिएको उहाँले बताउनुभयो ।
यस्तै अमर ज्योति मावि लुईटेलमा २ सय १९ जना, परोपकार आर्दश माविमा २ सय ५३ जना, शक्ति मावि पाटेचौरमा २ सय ५८ जना, महालक्ष्मी मावि लक्ष्मिबजारमा ११९ जना परीक्षामा सहभागी हुने जिल्ला शिक्षा समन्वय समिति गोरखाले जानकारी दिएको छ । यसैगरी महेन्द्र ज्योति मा.वि दरबारमार्गमा २ सय ४३ जना, सरस्वती मा.वि आहालेमा २ सय ६७ जना, महेन्द्र मा.वि कुन्दुरटारमा आँवुखैरेनीका २ सय ६४ सहित ३४५ जना विद्यार्थीले परीक्षा दिने उहाँले जानकारी दिनुभयो ।
यसअघि ३ वा सो भन्दा बढी विषयमा नन ग्रेडेड अर्थात एनजी ल्याएका विद्यार्थीले यो वर्ष पुरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । तर,शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ संशोधन गरेको थियो । त्योसँगै परीक्षाका लागि ६ वटै विषयको फाराम भरेपनि जति विषयमा एनजी आएको छ त्यत्तिकै विषयको मात्र परीक्षा दिनुपर्ने भएको हो ।