गोरखा, २५ बैशाख । गोरखामा चक्कु प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको चुमनुब्री गाउँपालिका–४, नामरुङ घर भएका ४५ बर्षिय दोर्जे घ्याल्जेनको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५९ बर्षिय छिरिङ धुनडुपलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
यहीँ बैशाख १७ गते साँझ ५ बजे आफ्नै घरको कोठामा मृतावस्थामा भेटिएका घ्याल्जेनको हत्या भएको आंशकामा प्रहरीले अनुसन्धान गर्ने क्रममा धुनडुपले हत्या गरेको खुल्न आएको उहाँले बताउनुभयो । ‘मृतकको घाँटी अगाडीको भागमा धारिलो हतियार प्रहार गरेको जस्तो चोट देखिएको भन्ने जानकारी आएपछि घटनास्थलमा पठाइएको प्रहरीको टोलीले अनुसन्धान थालेको थियो, डिएसपी लामिछानेले भन्नुभयो, ‘ घाँटीको अगाडीको भागमा चक्कु प्रहार गरि उनले हत्या गरेको खुल्न आएको हो ।’
भौगोलिक बिकटताका कारण अनुसन्धान प्रक्रियामा कठिनाई हुँदा ढिलो गरि मात्र धुनडुपलाई पक्राउ गर्न प्रहरी सफल भएको उहाँले बताउनुभयो । पक्राउ परेका उनलाई आज जिल्ला अदालत गोरखाबाट कतव्र्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान अघि बढाइएको डिएसपी लामिछाने जानकारी दिनुभयो । हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।