गोरखा, १९ बैशाख । गोरखाको भीमसेन थापा गाउँपालिका–६, अश्राङमा रहेको श्री नवजागृति चण्डी माध्यामिक बिधालयमा कम्युटर इन्जिनियरिङ्ग बिषयको पठनपाठन सुरु हुने भएको छ । गाउँपालिकाको बिशेष पहलमा नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले बिधालयलाई प्राविधिक धार सञ्चालनका लागि अनुमति प्रदान गरेको हो ।
शैक्षिक क्षेत्रको स्तरोन्नतिसंगै प्राबिधिक शिक्षाको बिकास मार्फत शिक्षालाई रोजगारमूलक बनाउने तर्फ जोडदिदैँ आएको गाउँपालिकाले पालिका भित्रका बिधालयमा पहिलो पटक कम्युटर इन्जिनियरिङ्ग बिषयको अध्यापन अनुमति लिन सफल भएको हो । बिधालयले अध्यापन अनुमति पाएसंगै शैक्षिकसत्र २०८० देखि नै प्राविधिक धार तर्फ कक्षा ९देखि १२ सम्म कम्युटर इन्जिनियरिङ्गको पठनपाठन सुरु हुने गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।
२०७९ चैत २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट उक्त बिधालयलाई कम्युटर इन्जिनियरिङ्ग अध्यापनको अनुमति दिने निर्णय गरेको थियो । बिधालयमा कक्षा सञ्चालनका लागि अनुदान समेत सरकारले उपलब्ध गराउनेछ । यस अघि गतशैक्षिक सत्रदेखि नै गाउँपालिकाको वडा नम्बर ७ बोर्लाङ्ग स्थित श्री सरस्वती माध्यामिक बिधालयमा तीन बर्षे डिप्पोमा इन सिभिल इन्जिनियरिङ्ग बिषयमा पठनपाठन सुरु भइसकेको छ ।