गोरखा, १५ बैशाख । गोरखाको अजिरकोट गाउँपालिकाले सार्वजनिक विदाका दिन पनि सेवाग्राहीहरुलाई लागि सेवा प्रवाह गर्ने भएको छ । गाउँपालिकाले पालिका र पालिका अन्र्तगतका सवै वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुबाट सार्वजनिक विदाको दिनमा समेत सेवा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।
संघिय सरकार गृह मन्त्रालयले राजपत्र भाग ५ मा प्रकाशित सूचना उल्लेखित सार्वजनिक सेवा प्रवाह सम्बन्धि व्यवस्था भए बमोजिम सार्वजनिक विदाका दिनमा पालिका र पालिका अन्र्तगतका कार्यालयहरुबाट नागरिकहरुलाई सेवा प्रदान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । अध्यक्ष देवकोटाले सार्वजनिक विदाको दिनमा वडा कार्यालयबाट प्रदान गरिने सिफारिस लगायतका सेवाहरु तथा स्वास्थ्य संस्थाहरुबाट उपलब्ध गराइदैँ आएका स्वास्थ्य सेवाहरु निरन्तर रुपमा नागरिकहरुलाई उपलब्ध गराउने गरि व्यवस्था मिलाउन पनि सम्बन्धित वडा कार्यालय तथा सेवा प्रवाह उपलब्ध गराउने कार्यालयहरुलाई पत्राचार गरिसकिएको जानकारी दिनुभयो ।
गाउँपालिकाले विदाका दिन काम गर्न खटिने कर्मचारीहरुलाई सट्टा विदाको व्यवस्था गरेको अध्यक्ष देवकोटाका भनाई छ । गाउँपालिकाले बैशाख २२ गते पर्ने उभौली पर्व, चण्डी पूर्णिमा, बैशाख पूर्णिमा तथा बुद्ध जयन्तीका दिन, भदौ १४ गते पर्ने रक्षाबन्दनका दिन र भदौ २० गते श्रीकृष्ण जन्मअष्टमीका दिन पर्ने सार्वजनिक विदाका दिन पनि सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय गरेको उहाँले बताउनभयो । त्यस्तै असोज २८ गते घटस्थापना, पुस ९ गते क्रिसमस डे, पुस १५ गते तमुल्होसार, माघ १ गते माघी पर्व, माघ २७ गते सोनाम ल्होसासका दिन परेका सार्वजनिक विदामा पनि गाउँपालिकाले सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय भएको अध्यक्ष देवकोटाले जानकारी दिनभयो ।
विदाका दिनमा पालिका र पालिका भित्रका स्थानीय तह अन्र्तगत हुने सार्वजनिक सेवाहरु निरन्तर रुपमा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । विदाको दिनमा सेवा प्रवाहको व्यवस्था मिलाउन गाउँपालिका सार्वजनिक सूचना मार्फत पनि मातहतका सवै निकायलाई निर्देशन दिएको अध्यक्ष देवकोटाले बताउनुभयो ।