गोरखा,१४ बैशाख । गोरखाका सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यन्त्री पदमा नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता रहनुभएका उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई आज संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नयाँ सरकार गठनका लागि आजै दाबी पेस गर्नुभएका पाण्डेलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीको पदमा नियुक्त हुनुभएको हो ।
गण्डकीमा सत्ता साझेदार दलबीच आलोपालो सरकारको नेतृत्व लिने सहमति अनुसार पहिलो चरणमा पाण्डेले नेतृत्व गर्नेछन् । संसदमा सवैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेसको २७ सीट छ । सभामुखसहित माओवादीको ८ सीट रहेको छ भने, स्वतन्त्र सांसद मनाङे पनि गठबन्धनमा छन् ।
पाण्डैले प्रदेश प्रमुखलाई मुख्यमन्त्री दाबी गर्दै केही समय अगाडी मात्र ३५ जना साँसदहरुको हस्ताक्षर बुझाउनुभएको थियो । यसअघि पुस २५ मा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
अधिकारीले वैशाख ९ मा विश्वासको मत प्राप्त नगरेपछि गण्डकीमा नयाँ सरकार गठनको प्रकृया अगाडि बढेको हो । नवनियुक्त मुख्यमन्त्रीलाई शुक्रबार शपथ खुवाउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।