Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको बारपाक–लाप्राक सडक स्तरोन्नतिमा ढिलाइ


1K
Shares

गोरखाको बारपाक–लाप्राक सडक स्तरोन्नतिमा ढिलाइ

गोरखा, १० बैशाख । गोरखाको बारपाक र लाप्राक जोड्ने सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ। पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी शर्मा—विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको भए पनि उक्त सडक स्तरोन्नतिको काम अहिलेसम्म ४८ प्रतिशतमात्र सम्पन्न भएको कार्यालयले जनाएको छ।

सडक निर्माणको काम निर्धारित समयमा सम्पन्न नहुने देखिएपछि कार्यालयले ठेकेदार कम्पनीलाई यहीँ आउँदो जेठ २२ गतेसम्म निर्माण सक्ने गरी पहिलोपटक म्याद थप गरिदिएको थियो। म्याद सकिन करिब डेढ महिनामात्र बाँकी रहँदासमेत सडक स्तरोन्नतिको आधा काम पनि सम्पन्न नभएको इञ्जीनियर दीपक बस्नेतले जानकारी दिनुभयो।

‘अहिलेको अवस्थालाई हेर्दा ठेकेदार कम्पनीले तोकिएको समयमा काम सक्ने अवस्था देखिँदैन। पहिलोपटक थपिएको म्याद २०८० जेठ २१ गतेसम्म मात्र छ,’ उहाँले भन्नुभयो। ठेकेदार कम्पनीले सुस्त गतिमा काम गरेका कारण सम्झौता अवधिभित्र काम सम्पन्न गर्न नसक्ने देखिएको उहाँले बताउनुभयो। करिब १३ दशमलव १४ किलोमिटर सडक स्तरोन्नति गर्ने गरी कार्यालयले रु ३४ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार ठेकेदार कम्पनीले सडक ग्राभेल गर्ने, चौडा बढाउने, ग्रेडिङ मिलाउने, नाला बनाउने लगायतको जिम्मेवारी पाएको छ।

दुर्गम ठाउँ भएको, चिसोको समयमा हिउँ पर्ने, वर्षात्का बेला निर्माण सामग्री लैजान समस्या हुने कारण देखाएर ठेकेदार कम्पनीले काम ढिलाइ हुँदै आएको दाबी गरेको छ। समयमै सडक स्तरोन्नति नहुँदा अहिले बारपाकबाट लाप्राक, गुम्दा जाने सर्वसाधारणले महँगो भाडा तिरेर जिपमा यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ। समयमै सडक स्तरोन्नति नहुँदा लाप्राक, गुम्दासम्म खाद्यान्न पुर्‍याउन, बिरामी ल्याउन लैजान कठिनाइ भोग्नुपरेको धार्चे गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष किसान गुरुङले बताउनुभयो।

‘बाटो अवरुद्ध भएर दुई–तीन घन्टा बाटोमै रोक्नुपर्‍यो भने सुत्केरी हुन नसकेका बिरामी तथा विपदमा परेका, दुर्घटनामा परेका गम्भीर घाइतेको त ज्यानै जान सक्ने सम्भावना हुन्छ। त्यसैले हामीले ठेकेदार कम्पनीलाई पटक–पटक बाटो छिट्टै निर्माण सम्पन्न गर्न अनुरोध गर्‍यौँ तर सुनुवाइ नै भएन,’ उहाँले भन्नुभयो।

म्याद सकिनलाग्दा अहिले भने ठेकेदार कम्पनीले विहानको ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द गरेर काम गर्दै आएको छ। आवासीय नेपाली सङ्घ (एनआरएनए)ले गुप्सीपाखामा निर्माण गरेको सुन्दर एकीकृत नमूना बस्ती हेर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसमेत सडक यात्रा सहज नहुँदा बारपाकबाटै फर्कने गरेका छन्। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology