काठमाडौं, ५ वैशाख । एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले शानदार जितको सुरूआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो। २३६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ७१ रन बनाउनुभयो भने कुशल मल्लले बिस्फोटक ब्याटिङ गर्नुभयो। उहाँले ४० बलमा ५ चौका र ५ छक्काको मद्दतमा ७० रन योगदान गर्नुभयो। जवाफी ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै ओपनर आशिफ शेखलाई १ रनमा गुमाएको थियो। त्यसपछि कुशल भुर्तेलले ब्याटिङलाई लयमा ल्याउनु भएका थिए। ३८ रन बनाएर भुर्तेल पेबेलियन फर्किएपछि नेपाललाई सुरूआती दबाब भएको थियो। पछि कप्तान रोहित कुमार पौडेल र भीम सार्कीले ब्याटिङलाई लयमा फर्काउनुभयो।
पौडेलले ४२ रनको योगदान गर्नुभयो भने सार्कीले अर्धसतकीय पारी खेल्नुभयो। नेपाल अब दोस्रो खेल ओमानसँग वैशाख ८ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्ने छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।