गोरखा, ३ बैशाख । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) गोरखाको प्रथम जिल्ला भेलाले धुव्र खनालको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति गठन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृसंगठन किसान महासंघको भेलाले खनालको अध्यक्षतामा ६५ सदस्सीय कार्यसमिति चयन गरेको महासंघका निवर्तमान जिल्ला संयोजक रामबहादुर खड्काले जानकारी दिनुभयो ।

माओवादी केन्द्रको पार्टी कार्यालय पाटेचौरमा सम्पन्न भएको भेलाले महासंघको जिल्ला उपाध्यक्षमा नवराज पोखरेल, धुव्रराज रेग्मी, होमबहादुर देवकोटा, सचिवमा अनिल बि.क, सहसचिवमा राजेन्द्रबाबु अर्याल, र कोषाध्यक्षमा कल्पना श्रेष्ठलाई सर्वसम्मत पदाधिकारीमा चयन गरेको उहाँले बताउनुभयो । भेलाको उद्घाटन कार्यक्रमलाई महासंघका केन्द्रीय उपाध्यक्ष रामबहादुर खड्काले किसानहरु पक्षमा राज्यले भूमिका खेल्नु पर्नेमा जोडदिनुभयो ।
उहाँले नेपाल कृषि प्रधान देश भएपनि राज्यले कृषकलाई आबश्यक महत्व नदिएको भन्दै कृषक र कृषि पेशालाई सम्मान हुने अबस्थामा ल्याउन सके मात्र देशको आर्थिक सम्बृद्धि र परिवर्तन हुने बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखबहादुर थापाले कृषि पेशालाई सम्मानित पेशा बनाउनु पर्नेमा जोड दिनुभयो । आफूले गण्डकी प्रदेश सरकारको कृषिमन्त्रीको जिम्मेवारी सम्हाल्ने अबसर पाएका बेला भूमिको चक्लाबन्दीका लागि नीति काम गरेर कृषि क्षेत्रमा आमूल सुधारको थालनी गरेको बताउनुभयो ।
केन्द्रीय सदस्य थापामगरले कृषि क्षेत्रको बिकासबाट मात्र सम्बृद्ध नेपाल बन्न सक्ने भन्दै किसानहरुलाई राज्यले उचित गर्नुपर्ने बताउनुभयो । महासंघका केन्द्रीय उपाध्यक्ष ढकालको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखबहादुर थापामगर, महासंघका उपमहासचिव तथा गण्डकी प्रदेश संयोजक ऋषि भूसाल, केन्द्रीय सदस्यहरु पृथ्वीराज धौराली, राजकुमार सुनार, शारदा घिमिरे लागयतको सहभागिता रहेको थियो । भेलाको उद्घाटन कार्यक्रम महासंघका जिल्ला संयोजक रामबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।