गोरखा, १५ चैत्र । गोरखामा प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । गोरखा नगरपालिका–१० छेवेटार बजार बस्ने ३६ बर्षिय रणबहादुर थापा र धादिङ जिल्ला सिद्वलेख गाउँपालिका–४ घर भई गोरखा नगरपालिका–१० छेवेटारमा बस्दै आएका २९ बर्षिय सुब्बा मगरलाई हातपात गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुले गएको सोमबार राती ८ः३० बजेको समयमा टक्सारमा हो–हल्ला तथा अशान्ति मच्चाएई रहेको बेला प्रहरीले सम्झाउने क्रममा उल्टै प्रहरी माथि जाइलागी कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
पक्राउ परेको थापा र मगरलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक शान्ति विरुद्वको कसूर शिर्षकमा मुद्वा दर्ता गरी १० दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।