Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

गण्डकी प्रदेशका क्रिकेट खेलाडीलाई सम्मान


917
Shares

गण्डकी प्रदेशका क्रिकेट खेलाडीलाई सम्मान

पोखरा, ७ चैत्र । नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले राष्ट्रिय क्रिकेट टोलीका करण केसी र यु(१९ टोलीका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई आज सम्मान गरेको छ ।

यू(१९ विश्वकपमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई जनही रु पाँच हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । त्यस्तै लिग टु क्रिकेटमा नेपाललाई क्वालिफायर राउण्डमा पुर्‍याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय टोलीका सदस्य करण केसी लाई मञ्चले रु २० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको हो ।

आइसिसी विश्वकप लिग टु का खेलमा केसीले कूल ५० विकेट लिएका थिए र साथै अन्य तीन जना खेलाडीले सन् २०२४ मा श्रीलङ्कामा हुने विश्वकपमा छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनीहरूलाई मञ्चका कार्यवाहक अध्यक्ष दिलबहादुर गुरुङ, निवर्तमान अध्यक्ष तेज गुरुङ, संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट लगायतले सम्मान गर्नुभयो ।

उक्त अवसरमा पोखरा क्रिकेट एकेडेमीका तर्फबाट चारै जना खेलाडीलाई जनही रु पाँच–पाँच हजार प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा मञ्चका कार्यवाहक अध्यक्ष गुरुङले नेपाली राष्ट्रिय क्रिकेट टिमले राष्ट्रको झण्डा अन्तर्राष्ट्रियस्तरमा फहराउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । पोखरा रङ्गशालामा रहेको क्रिकेट मैदान छिट्टै स्तरोन्नति हुनुपर्ने उल्लेख गर्दै उहाँले रङ्गशाला सहितका क्रिकेट रङ्गशाला स्तरोन्नति हुनसके पर्यटक खोज्न टाढा जान नपर्ने बताउनुभयो ।

मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङले राज्यले के दियो भन्दा पनि खेलाडीले आफ्नो खेल जीवनले दिएको संस्कार बिर्सन नहुने बताउनुभयो । मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले खेलाडीले आफूलाई अघि बढाउन अनुशासनसँगै प्रशिक्षकको निर्देशनलाई पालना गर्दै अघि बढ्नुपर्ने जानकारी दिनुभयो । पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बविन कुँवरले नेपालले पाएको सफलताले गौरवान्वित बनाएको समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology